काठमाडौं– प्रस्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै अभिभावकहरुका प्रतिनिधिहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
बैठकमा बोल्दै अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विधेयकमा अभिभावकको प्रतिनिधित्व गर्ने संस्थालाई पनि ठाउँ दिनुपर्ने बताए। उनले विधेयकमा अभिभावक संघलाई समेट्ने संरचनाको पनि ठाउँ हुनुपर्ने बताए। उनले विधेयकमा प्राविधिक शिक्षा सीटीइभीटीको बारेमा एक शब्द पनि खर्च नगरिएको भन्दै सीटीइभीटीलाई पनि सम्बोधन हुनुपर्ने बताए।
उनले भने, ‘हाम्रो आपत्तिको विषय के छ भने दफा १५३ मा नेपाल शिक्षक महासंघलाई राखिएको छ। अभिभावकहरुको त चिनारी नै छैन। यत्रो ठूलो व्यवस्थापन समितिमा बस्ने र आम रुपमा अभिभावकहरुको प्रतिनिधित्व गर्ने संस्थालाई पनि सम्बोधन गर्ने कुरा छुटेको छ। यो खेदजनक कुरा छ। यसलाई कहीँ न कहीँ रुपबाट समेटिनु पर्छ र अभिभावक संघहरुलाई समेट्नुपर्छ भन्ने हाम्रो जोडदार माग रहेको छ। विधेयकमा सिटिइभिटीको बारेमा एक शब्द पनि खर्च गरिएको छैन।’
बैठकमा बोल्दै अभिभावक महासंघका अर्का प्रतिनिधि केशव पुरीले विधेयकमा अभिभावक भन्ने शब्द कतै नआएको भन्दै आपत्ति जनाए। उनले अभिभावकहरुको कुनै माग नभएको भन्दै शिक्षामा भएका गलत कुराहरुलाई औंल्याएर राज्यलाई सल्लाह दिने अवस्था बन्नुपर्ने बताए।
उनले सरकारी विद्यालयमा राज्यले गरेको खर्चको प्रतिफल नखोजिएको भन्दै चिन्ता व्यक्त गरे।
उनले भने, ‘शिक्षा मन्त्रालयले अभिभावक संघलाई कुनै पनि ठाउँमा सम्बोधन गर्ने गरेको छैन। अभिभावकहरुको कुनै पनि माग होइन। शिक्षामा भएका गलत चिजहरु औंल्याएर राज्यलाई सल्लाह पनि दिन नपाउने अवस्था सिर्जना भयो। अहिलेको शिक्षा विधेयकमा अभिभावक भन्ने शब्द कहीँ पनि छैन। अभिभावक हुँदा त राज्यलाई सहयोग हुन्छ नि। सरकारी विद्यालयमा राज्यले गरेको खर्चको राज्यले कुनै प्रतिफल खोजेको छैन।’
त्यस्तै, बैठकमा बोल्दै विदेशमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक संघका अध्यक्ष नवराज काफ्लेले अभिभावकहरुलाई सामुदायिक विद्यालयहरुप्रति विश्वास नभएका कारण आफ्ना बालबालिका निजी विद्यालयमा पढाइरहेका बताए।
उनले सामुदायिक विद्यालयलाई व्यवस्थित गरेमा निजी विद्यालयमा जानेहरुको संख्या स्वतः घट्ने बताए। सामुदायिक विद्यालयको व्यवस्थापन राम्रो नभएको उनको भनाइ छ।
उनले भने, ‘अभिभावकलाई सामुदायिक विद्यालयप्रतिको विश्वास छैन। हामी नीजिलाई गालि गर्छौं। निजीलाई गाली गर्नैपर्दैन। सामुदायिक विद्यालय राम्रो बनाऔं। सामुदायिक विद्यालय राम्रो भएपछि निजी विद्यालयहरु स्वतः घट्छन्। सामुदायिक विद्यालयलाई राम्रो व्यवस्थित गर्न नसकेको कारणले, त्यहाँको व्यवस्थापन राम्रो नभएको कारणले, यसमा अभिभावकको विश्वास नभएको कारणले ति अभिभावकहरु निजी विद्यालय खोज्दै गएका हुन्।’
उनले सबै मिलेर सामुदायिक विद्यालयको गुणस्तरमा सुधार गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।