काठमाडौं– वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्न व्यवसायीहरुले माग गरेका छन्।
सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेका हुन्। उनीहरुले व्यवसायीहरुलाई सिण्डिकेट गर्नेगरी बिचौलियालाई फाइदा हुनेगरी वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’बीच भएको सम्झौता खारेज गर्नुपर्ने माग गरे।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ भएको सम्झौता अव्यवहारिक र गम्भिर विषय भएकाले खारेज गर्न माग गरे।
उनले वैदेशिक रोजगारसम्बन्धी व्यवसाय नै मास्ने गरी सम्झौता भएको बताए। उनले तत्काल यसरी भएको सम्झौता खारेज नगरे वैदेशिक रोजगार व्यवसाय बन्द गर्न बाध्य हुने बताए।
उनले वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य गरिएको बायोमेट्रिक कुटनैतिक पहल गरी हटाउन माग गरे। उनले साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्नेगरी अनिवार्य गरेको बायोमेट्रीक कुटनैतिक पहल गरी हटाउनुपर्ने बताए।
निःशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउनुपर्ने पनि माग संघले राखेको उनले बताए। अध्यक्ष भण्डारीले पछिल्लो समय काठमाडौंस्थित साउदी अरब दूतावासले बायोमेट्रिकलाई अनिवार्य गरी कामदारलाई समय र पैसा दुवैको भार पर्ने भन्दै असन्तुष्टि जनाए।
संघले अभिमुखीकरण तालिमको नयाँ मापदण्डअनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र एल टी नो अगाडि नै तालिमको व्यवस्था मिलाउनुपर्ने माग राखेको छ। त्यस्तै मानव तस्करी र बिचौलियालाई फाइदा पुग्ने गरी प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृत बन्द गरी संलग्न माथि छानबिन गरी कारबाही गर्न माग गरको छ।
वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभरबाहेक) कोरियाको इसेभेन भिषामा कामदार पठाउन व्यवसायीमार्फत् व्यवस्था गर्नुपर्ने माग रहेको छ। वैदेशिक रोजगार ऐन, २०६४ लाई समय सापेक्ष परिमार्जन गर्न पनि सुझाव दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।