काठमाडौं– सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले शिक्षणको भाषा सम्बन्धित विद्यालयको निर्णय बमोजिम गरिनुपर्ने बताएको छ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा महासंघका प्रतिनिधिहरुले विद्यालय शिक्षा विधेयकको संशोधनको सम्बन्धमा धारणा राख्दै यस्तो बताएका हुन्।
उनीहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा गणित, विज्ञान र कम्युटर अंग्रेजी भाषामा पढाउनुपर्ने उल्लेख गरिएको भन्दै सबै विद्यालयमा यो प्रावधान लागू गर्नु नहुने बताएका छन्।
बैठकमा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयमा कुन भाषामा शिक्षण गराउने भन्नेकुरा अभिभावकहरुसँगको सल्लाहमा विद्यालयले टुंग्याउनुपर्ने बताए।
उनले भाषाका कारण गणित र विज्ञानमा विद्यार्थीहरुको सिकाइ कमजोर बन्ने अवस्था आउन दिनु नहुने बताए। उनले भाषाको विषय विद्यालय स्वयंले निर्णय गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए। त्यस्तै सरकारको अनुदानले पूर्ण रुपमा विद्यालय सञ्चालन गर्न नपुगेको अवस्थामा अभिभावकहरुसँग आर्थिक साझेदारी गर्न सकिने व्यवस्था गर्नुपर्ने पनि बताए।
विद्यालयको प्रधानाध्यापक गाउँपालिकाले नियुक्ती गर्नसक्ने व्यवस्था गर्नुपर्ने र नियुक्ति कार्यपालिकाले नगरी सोझै प्रमुख प्रशासकिय अधिकृतले गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । कार्यपालिकाले प्रअ नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप हुने उनको भनाइ छ।
उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकहरुमध्येबाटै तोकिनुपर्ने बताए। सामुदायिक विद्यालयहरुलाई सार्वजनिक विद्यालय नभनी सामुदायिक विद्यालय नै भनेर नामाकरण गर्नुपर्ने उनको भनाइ छ। यस्तो नाम राखिएमा समुदायले अपनत्व महशुस गर्ने उनले बताए।
उनले विद्यालय व्यवस्थापन समितिसँगको परामर्शमा मात्रै शिक्षक सरुवा हुने व्यवस्था गर्नुपर्ने बताए। उनले ऐनमा विद्यालय व्यवस्थापन महासंघको पनि व्यवस्था हुनुपर्ने माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।