काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु)हरुसहित १२४ जनाले संयुक्त रिटमा दायर गरेको रिट सर्वोच्चमा आइतबार सुनुवाइ हुँदै छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा उनीहरुको रिटको पेसी तोकिएको छ। उनीहरुको रिटको पेसी ‘झ’ नम्बरमा छ।
आफूहरुमाथि अन्याय र विभेदभावपूर्ण व्यवहार भएको दाबीसहित उनीहरुले पुस २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिट निवेदकहरुले आफूहरुमाथि विभेदकारी व्यवहार भएको, सेवा–सुविधामा कानुन विपरीत विभेदको नीति ल्याएकाले त्यस्ता प्रावधान खारेजीका माग गरेका छन्।
वरिष्ठ विमान परिचारिका प्रजिता कार्की सहितले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई विपक्षी बनाइएको छ।
रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीहको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख छ।
कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा ४० वर्षमा अवकाश दिने, १ महिनाको तलब दिएर जहिल्यसुकै हटाउनसक्ने, सेवाअवधिभर करारको करार नै राखी अवकाश गराउने र उपदान पनि नदिनेलगायतका प्रावधानहरु बदर गर्न माग गरिएको छ।
जिन्दगीभर एउटै पदमा काम लगाएर विना कुनै सुविधा जहिलेसुकै हटाउने तथा सामाजिक सुरक्षाको समेत कुनै व्यवहार नगरिएको उनीहरुको दाबी छ।
सामान्य कम्पनीले समेत सामाजिक सेवा सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा नेपाल सरकार स्वामित्वको वायुसेवा निगम जस्तो निकायले आफ्ना क्याबिन क्रुमाथि गभ्मीर विभेद गरेको उनीहरुको गुनासो छ। आफूहरुले पटक–पटक व्यवस्थापनसमक्ष कुरा राख्दा समेत सुधारको प्रक्रिया अघि नसारहेकोले सर्वोच्च अदालतमा रिट निवेदन दिनु परेको पनि रिट निवेदनमा उल्लेख छ।
अन्य कर्मचारीले विमान दुर्घटना भइ अशक्त हुँदा अशक्त वृत्ति पाउने, तर विमान परिचारक र परिचारिकाहरुले नपाउने, विमान चालकको बढुवा म्यानुअल हुने, तर आफूहरुको बढुवा नहुने, औषधि उपचारमा पनि विभेद हुने गरेकाले न्यायको माग गर्दै विमान परिचारक र परिचारिकाहरुले रिट दायर गरेको उनीहरुका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।