काठमाडौं– डाँका चोरी मुद्दामा रुपन्देही जिल्ला अदालतले ६ वर्षको कैद सजाय सुनाएका १ जना अभियुक्तलाई प्रहरीले साढे १२ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपेन्देहीको साबिक रुद्रपुर गाविस–९ (हाल कञ्चन गाउँपालिका–३) घर भएका ४६ वर्षीय बेलबहादुर थापा छन्।
डाँका चोरी मुद्दामा रुपेन्देही जिल्ला अदालतले थापाविरुद्ध ३० जेठ २०६८ मा ६ वर्षको कैद सजाय सुनाएको थियो। अदालतमा मुद्दा टेकिनु अगाडिदेखि नै फरार रहेका उनलाई प्रहरीले बिहीबार (१९ पुस २०८०)मा पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको थियो।
रुपन्देही जिल्ला अदालतले उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय रुपन्देही चलान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।