काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको घटना साम्य नहुँदा सर्लाही प्रशासनले कर्फ्यू जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू जारी गरेको हो। दिउँसो भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो।
तर सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले गोली चलाउने आदेश नदिएको बताएका छन्।
सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर साह गम्भीर घाइते भएका थिए। टाउकामा गोली लागेका साहको मृत्यु भएको थियो।
अस्पतालको विषयलाई लिएर स्थानीयहरूले मेयर कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।