काठमाडौं– जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित परिवारले न्यानो कपडा पाएका छन्। सिन्धुपाल्चोकको तीन स्थानीय तह बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रीपुरा सुन्दरी गाउँपालिकाले जाजरकोट र रुकुम भूकम्प पीडित परिवारलाई राहत सहयोग गरेका हुन्।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितलाई जाडो र चिसोबाट बच्नको लागि तीन स्थानीय तहले सिरक दिएका हुन्। गत कात्तिक १७ गते भूकम्प गएपछि बाह्रबिसे नगरपालिकाले १५ लाख बराबरको राहत सामग्री सहयोग गर्ने घोषण गरेसँगै बाह्रबिसेले रुकुम पश्चिममा २ सय ३ परिवारको लागि र जाजरकोटमा ४ सय ४५ परिवारलाई सिरक वितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ।
बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले भने, ‘हामीले जाजरकोट र रुकुम पश्चिममा भुकम्प गएपछि नगरबाट सहयोग गर्ने घोषण गरेका थियौं। त्यही अनुसार राहत लिएर गएका हौं। अहिले हामीले पीडित परिवारलाई एक थानका दरले सहयोग गरेको हो।’
बाह्रबिसे नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमको लागि ६ सय ५४ थान सहयोग गरेको बताए। उनले थपे, ‘विगतमा हाम्रो सिन्धुपाल्चोकले पनि भूकम्प र बाढी पहिरोको सामना गरेको देखेका छौं, त्यसैले हामीले सरकार र पीडित परिवारलाई सहयोग पुग्ने हेतुले सहयोग गरेको हो।’
प्राकृतिक विपत्ति निकै पीडा र अत्यास लाग्दो हुन्छ त्यसैले हामीले मानवीय भावनाको हिसाबले पीडितलाई सहयोग गरेको बस्नेतले बताए।
विगतमा हामीले पनि जिल्लामा धेरै विपत्ति भोगेका थियौं। पीडामा गरेको सहयोगले नागरिकमा धेरै आशा हुने बस्नेतले बताए। त्यस्तै भोटेकोसी गाउँपालिकाले रुकुम पश्चिममा २ सय परिवारलाई सहयोग गरेको छ भने, जाजरकोटको प्रभावित परिवारलाई २ सय ३० थान सिरक सहयोग गरेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्ब शेर्पाले बताए।
उनले भने, ‘हामी आफैं पीडित तथा प्रभावित क्षेत्रमा आएर सहयोग गरेका छौं, हामीले दिएको सहयोग प्रत्यक्ष पीडित परिवार पाए। त्यसैमा मलाई खुसी लागेको छ।’ प्राकृति विपत्तिले क्षति पुर्याउदा एक आपसमा मिलेर सहयोग गर्दा पीडितलाई सहज हुने शेर्पाले बताए। त्यस्तै त्रीपुरा सुन्दरी गाउँपालिकाले पश्चिम रुकुममा ३ सय ५० थान र जाजरकोटमा ८० थान न्यानो सिरक दिएको त्रीपुरा सुन्दरी गाउपालिकाले जनाएको छ।
भूकम्प पीडितले सरकारले सहयोग नगर्दा जाडोमा वृद्ध, बालबालिका र सुत्केरी महिलालाई चिसोले समस्या निम्त्याएको बताए। ‘हामीलाई जाडोमा बाँच्न समस्या परेको छ,’ भेरी नगरपालिका १३ कि वडा सदस्य शुसिला विक भन्छिन्। यसरी पीडित परिवारले प्रत्यक्ष राहत पाउँदा सहज हुने उनको भनाइ छ।
सिन्धुपाल्चोकको तीन स्थानीय तहले ३५ लाख बराबरको १५ सय परिवारको लागि १५ सय थान सिरक दिएको हो। जाजरकोटको भेरी नगरपालिका १३ मा भने बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत र भोटेकोसी गाउँपलिकाका अध्यक्ष पासाङ नोर्बुले आफैं पुगेर राहत वितरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।