धनकुटा- कोशी प्रदेशका १४ जिल्लामा अप्टिकल फाइबर नेटवर्कमार्फत द्रुत गतिको इन्टरनेट सेवा सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले धनकुटा नगरपालिकाको हिले बजारमा स्थापना गरिएको ‘दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्क’को शनिबार उद्घाटन गरिन्।
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री शर्माले यस परियोजनाले करिब ५० लाख जनतामा सेवा प्रवाह गर्न सहज हुने बताइन्।
सूचना र प्रविधिको क्षेत्र सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्यो, ‘सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथामिकतामा राखेको छ, यस्ता विषयलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत राखेको छ।’
यस वर्ष सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला र कालिकोटमा सेवा विस्तार गरेर ७३ जिल्लामा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा पुर्याएको मन्त्री शर्माले जानकारी दिइन्। उनले चाँडै बाँकी जिल्लामा पनि सेवा विस्तार गरिने बताइन्।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको यो योजना सञ्चार सम्बन्धी सरकारको योजनाको एक अंश भएको जानकारी दिँदै मन्त्री शर्माले यस आयोजनाले कोशी प्रदेशका बासिन्दालाई दूरसञ्चारको मुल प्रवाहमा जोड्न सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा विस्तारलाई सरकारले विशेष जोड दिएको बताउँदै मन्त्री शर्माले यसै योजनाअन्तर्गत नेपाल टेलिकमबाट सुरु गरिएको फोरजी सेवा सात सय ३९ स्थानीय तहमा पुर्याइएको जानकारी दिइन्। देशको कुल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको र यसलाई शतप्रतिशत विस्तार गर्न आवश्यक रहेको उनो भनाइ छ।
एनसेल मोबाइल प्रकरणमा सरकारले छानबिन टोली गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरिन्। ‘बाहिर हल्ला भए जस्तो एनसेलका विषयमा केही भएको छैन, हाइप्रोफाइल भनेर कारबाहीबाट छुट कसैलाई हुन्न,’ उनले भनिन्।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।