काठमाडौं– ‘म लडाइँमा जाँदैछु, केही चिन्ता नलिनु’ असोज १ गते ओखलढुंगाका ३१ वर्षीय पदम (नाम परिवर्तन)ले परिवारका सदस्यलाई म्यासेन्जसमा भ्वाइस म्यासेज पठाए।
पदमले म्यासेज पठाएको चार महिना बित्न लाग्यो। तर अहिलेसम्म उनको अत्तोपत्तो छैन। उनी जिवितै छन् वा .... भइसके?, घाइते भएर अस्पतालमा छन् वा विपक्षी सेनाको कब्जामा?, फरार भएर स्वदेश फर्कदै छन्, वा बिन्दास तरिकाले ‘शुत्र’सँग भिडिरहेका छन्?
यी प्रश्नको उत्तर खोज्ने सामर्थ्य पदमको परिवारसँग अहिले छैन। न त राज्यले नै यसको जवाफ दिन सकेको छ। अज्ञातै अज्ञातमा विगत चार महिनादेखि पदमको परिवार रुमल्लिएको छ।
ओखलढुंगाका ३१ वर्षीय पदम कम्पनीमा काम गर्ने भन्दै गत अगस्ट १८ मा रुस गएका थिए। रुस पुगेको तीन दिनमै पदमले रसियन आर्मीमा भर्ना भएको भन्दै परिवारलाई जानकारी गराए।
रसियन सैनिकसँगै बसेर खिचेको तस्बिर पनि सामाजिक सञ्जालमार्फत् परिवारलाई पठाए। गत असोज १ गते उनले लडाइँमा जान लागेकाले चिन्ता नलिनु भन्दै भ्वाइस म्यासेज पठाएका थिए।
तर त्यसयता उनी पदमको परिवारले निरन्तर चिन्ता लिइरहेको छ। उनको अवस्था अझै अज्ञात छ। पदमको अवस्था अज्ञात रहेपछि उनको परिवार मानव बेचबिखन अनुसन्धान ब्यूरो पुगेको थियो। ब्यूरोको टोलीले परिवारका सदस्यबाट उजुरी लिएको छ।
उनी कसरी रुस पुगे र सेनामा भर्ना भए भन्ने विषय अनुसन्धान सुरु गरिएको ब्यूरोका एसएसपी जीवन कुमार श्रेष्ठले बताए। अर्कोतफ भने कुटनैतिक माध्यमबाट उनको खोजिनिती गर्नका लागि सम्बन्धित निकायमा जानकारी समेत गराइने एसएसपी श्रेष्ठले बताए।
रुस जानका लागि पदम १२ लाख रुपैयाँ बुझाएको परिवारले बताएका छन्। पदम नेपालबाटै रुस पुगेका थिए। कामदारका रुपमा भने रुस गएको बताएपछि ब्यूरोले पदमको रुस गएको प्रक्रियाबारे अध्यागमनसँग माग गरेको थियो।
तर कुन भिसामा उनी रुस गए भन्ने रेकर्ड अध्यागमनमा नदेखिएको ब्यूराले जनाएको छ। ‘नेपालबाटै भिसा लगाएर रुस गएको अध्यागमनको रेकर्डबाट देखिन्छ। तर कुन भिसामा गएको भन्ने रेकर्ड अध्यागमनको कागजातबाट खुल्दैन’ ब्यूरो स्रोतले भन्यो।
रुस जानुअघि उनी वैदेशिक रोजगारीमा एक वर्षसम्म दुबई बसेर २०७६ मा रुस फर्केका थिए। दुबईको कमाईबाट असन्तुष्ट भएर बसेका उनी राम्रो कमाई हुने भन्दै रुस पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।