काठमाडौं– श्रमजीवी पत्रकार संघले सिंहदरबारको पूर्वी गेटमा कालो ब्यानर उडाएर विरोध प्रदर्शन गरेको छ। संघका अध्यक्ष जन्मदेव जैसीको अगुवाहीमा बेलुनमा कालो ब्यानर राखेर उडाउँदै विरोध प्रदर्शन गरेको हो।
श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्नुपर्ने भन्दै ९ बुँदे माग राखी कालो ब्यानर उडाएको हो। गत मंसिर २५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई अल्टिमेटम पत्र बुझाएलगत्तै २९ गते एक प्रेस विज्ञप्ति जारी गरी पुस १ गते देखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको थियो।
संघका अनुसार सामाजिक सञ्जालमार्फत् ९ बुँदे मागको प्रचार प्रसार , हस्ताक्षर अभियान लगायत बुधबार (आज) बेलुनमा कालो ब्यानर भुण्ड्याएर सिंहदरबाको पूर्वी गेटबाट आकाशमा उडाइएको हो। आगामी विरोध कार्यक्रममा सातैवटा प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, कालो ब्यानरसहित राजधानी काठमाडौंमा धर्ना बस्ने र पुस ८ गते प्लेकाडसहित प्रदर्शन गर्ने तयारी गरेको छ।
‘विभिन्न सञ्चारगृहहरुमा यतिबेला श्रमजीवीहरु आन्दोलित छन् तर व्यवस्थापन पक्षले माग सम्बोधन गर्नुको सट्टा बेवास्ता गर्ने र राज्यले पनि ताकेता नगर्दा श्रमजीवीहरुको श्रमको मूल्य पाउने अधिकार हनन् भएको छ। अतः यी सबै सञ्चार क्षेत्रका श्रम समस्या निराकरण गर्न हामी जोडदार माग गर्दछौं,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा जायज मुद्दाको सम्बोधन नभए पुष १ गते आइतबारदेखि हुने सडक आन्दोलनले बाध्य पार्ने विश्वास व्यक्त गर्दै सो आन्दोलनमा साथ समर्थन र सक्रिय सहभागिताका लागि पनि यसै पत्रमार्फत् श्रमजीवी पत्रकार आम समुदायमा हार्दिक अपिल गर्दछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।