काठमाडौं– सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइसम्बन्धी निर्णय आज (बुधबार) हुने भएको छ। संघीय संसद्को सुनुवाइ समितिको बुधबार बस्ने बैठकले सर्वोच्चका ६ जना प्रास्तावित न्यायाधीशको अनुमोदनसम्बन्धी निर्णय गर्ने छ।
संसदीय सुनुवाइ समितिको बैठक बुधबार बिहान ११ बजे, सिंहदरबारमा बस्दै छ। यसअघि सोमबार बसेको बैठकमा सुनुवाइ सकिएको थियो।
सोमबार कानुन व्यवसायीवाट सिफारिस भएका वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाममा सुनुवाइ भएको थियो।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो। सो सिफारिसमाथि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो।
संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी भएमा उजुरी दिन आह्वानसमेत गरेको थियो। समितिको सूचनाअनुसार प्रस्तावित न्यायाधीशमध्ये सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाविरुद्ध उजुरी परेको थियो भने महेश शर्मा पौडेल, सुनिल पोखरेल र बालकृष्ण ढकालविरुद्ध कुनै पनि उजुरी परेको थिएन।
सोमबार संसदीय सुनुवाइ सकिएपछि बुधबार बिहान ११ बजे प्रस्तावित न्यायाधीशका सम्बन्धमा निर्णय गरिने संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ। उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिबाट शपथ लिइ सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज गर्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।