प्यूठान– प्यूठान नगरपालिकामा जापान सरकारको सहयोगमा निर्माण सम्पन्न भएको बेसार प्रशोधन केन्द्रको सञ्चालनमा आएको छ।
मंगलबार एक कार्यक्रमकाबीच नेपालका लागि जापानी राजदूत किकुता युटुकाले उद्घाटन गरेका छन्। उद्घाटनसँगै निर्माण सम्पन भएको उद्योग प्यूठान नगरपालिकालाई हस्तान्तरणसमेत राजदूतले गरेका छन्।
वार्षिक १ लाख केजी बेसारको धुलो बनाउने क्षमताको उद्योग स्थापना भएपछि नगरपालिकाका कम्तीमा ५५० थप कृषक परिवारको दैनिक कम्तिमा १ डलरको आम्दानी थपिने गरि हलेदो उत्पादन गर्ने योजना नगरपालिकाले लिएको बताइएको छ।
राजदुत युटुकाले १ करोड लागतमा सम्पन्न यो उद्योगको व्यवसायीकरण तथा हलेदो उत्पादक कृषकलाई सहज गराउन थप सहयोग योजना बनाउनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन्।
जापान सरकारले सामाजिक-आर्थिक विकासका लागि भोल नेपाल अन्तर्गत करिब १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो। उद्योग स्थापनापछि गुणस्तरीय उत्पादन र राम्रो मूल्य पाउने राजदूतको विश्वास छ।
उनले नेपाल र जापानबीचको सम्बन्ध अझ थप मैत्रीपूर्ण हुने आशा व्यक्त गरेका छन्। प्यूठान नगरप्रमुख विष्णुबहादुर योगीले केन्द्रको नियमित सञ्चालन र दिगोपना दिने प्रतिबद्धता जनाएका थिए।
उनले नगरपालिकाका कृषकलाई आत्मनिर्भर बनाउन निरन्तर खटिने समेत बताए। प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले पछिल्लो समयमा बाँदर तथा बँदेलका कारण अन्नबालीबाट नोक्सान व्यहोरिरहेका कृषकहरुलाइ हलेदो उत्पादनमा जोड्ने नगरपालिकाको सोच रहेको बताए।
नगरपालिका दूध र तरकारी उत्पादनमा आधारित अनुदानमा गइसकेकाले उद्योग सफल हुनेमा विश्वस्त रहेको बताए। भोल नेपालका अध्यक्ष शिव रिमालले बेसार खेतीका लागि स्थानीयले देखाएको उत्साहको प्रसंशा गरे भने फ्रान्सका पूर्व राजदूत मोहन कृष्ण श्रेष्ठले जापान सरकार र नेपालबीच ६७ वर्षको मित्रता रहेको भन्दै जापान सरकारले नेपालको विकासमा धेरै सहयोग गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।