काठमाडौं– भक्तपुरमा एक महिलालाई बलात्कार गरेर कुवेत फरार भएका व्यक्तिलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ।
बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामालाई कुवेतबाट काठमाडौं ल्याइएको हो।
नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका लामालाई सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए।
लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।