काठमाडौं– ज्याकेटमा फल्स बटम बनाएर अवैध लागु औषध ब्राउन सुगर राखी पार्सल गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा झापाको मेचिनगर नगरपालिका–१२ कालिझोडा घर भएका ३० वर्षीय राजु विश्वकर्मा र इलामको इलाम नगरपालिका–१ बस्ने २० वर्षीय दीपक दाहाल छन्।
उनीहरुलाई शनिबार इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो। शनिबार साँझ ७ बजेतिर बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्टेसनमा पुगेर राजुले हाईसमार्फत् काठमाडौंमा ज्याकेट पार्सल गर्न लागेका थिए।
प्रहरीलाई शंका लागेर उक्त ज्याकेट जाँच गर्दा फल्स बटम बनाई अवैध लागु औषध ब्राउन सुगर प्याक गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो। उक्त ज्याकेटबाट २८ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो।
पक्राउ परेका राजुले उक्त सामान तथा ज्याकेट दीपकको रहेको भन्दै नाम लिएको बताएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।