एजेन्सी– प्यालेस्टाइनको रफाहमा हजारौं विस्थापित सर्वसाधारणहरूले चिसो आकाशमा दिन रात बिताउनुपरेको संयुक्त राष्ट्र संघले शनिबार जानकारी गराएको छ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसिएचए) ले डिसेम्बर ३ देखि गाजा पट्टीको दक्षिणी छेउमा रहेको रफाह सहरमा दशौं हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू रहेको जानकारी गराएको छ।
इजरायली सेनाले युनिस सहर खाली गर्न दिएको आदेश र निरन्तरको बमबारी र लडाइँपछि तिनीहरूमध्ये अधिकांश छिमेकी क्षेत्रबाट आएका बताइएको छ।
सबैभन्दा पछि आएका विस्थापित मानिसहरूले रफाहमा ठूलो भीडभाडबीच आफूहरूलाई सडक वा अन्य खुला ठाउँहरूमा पनि आफ्नो ठाउँ पाउन मुस्किल भइरहेको छ।
‘हजारौं विस्थापित मानिसहरूले निर्माणाधीन कतारी फिल्ड अस्पताल र रफाहको अल–कुड्स ओपन युनिभर्सिटी क्याम्पसमा अस्थायी संरचना र टेन्टहरू स्थापना गरेका छन्,’ राष्ट्रसङ्घीय उक्त निकायले भनेको छ।
धेरै प्यालेस्टिनीहरूका लागि, अक्टोबर ७ मा गाजा पट्टीमा इजरायलको आक्रमण सुरु भएदेखि उनीहरूले अनुभव गरेको यो दोस्रो वा तेस्रो विस्थापन हो। संयुक्त राष्ट्रका अनुसार गाजाका करिब १९ लाख जनसङ्ख्याको झन्डै ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ।
यी विस्थापितहरूमध्ये करिब १२ लाख गाजा पट्टीमा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घको राहत तथा मानवीय मामिला हेर्ने निकायका १५१सेवा सुविधाहरूका लागि दर्ता गरिएको छ।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा हप्तौँदेखि चलेको द्वन्द्वमा करिब १७ हजार पाँच सय व्यक्तिको मृत्यु भएपछि गुटेर्रेसले आपत्कालीन बैठक बोलाएका थिए।
गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रक्तपातपूर्ण आक्रमणका कारण उक्त क्षेत्रमा युद्ध सुरु भएको थियो, जसमा एक हजार दुई सय व्यक्तिको मृत्यु भएको, मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र अन्य दुई सय ४० जनालाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।