काठमाडौं– गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न भन्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ। अमेरिकाले भिटो प्रयोग गर्दा उक्त प्रस्ताव पारित हुन सकेन।
अमेरिका यो प्रस्तावको विरुद्धमा मतदान गर्ने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को एकमात्र स्थायी सदस्य हो। बेलायत मतदानका क्रममा अनुपस्थित रह्यो भने फ्रान्सले यो प्रस्तावको पक्षमा मतदान गर्यो।
सुरक्षा परिषद्को आपत्कालीन बैठकमा संयुक्त अरब ईमिरेट्स (यूएई)ले गाजामा तत्काल एक मानवीय युद्धविराम लागु गर्न माग गर्दै प्रस्ताव पेस गरेको थियो। यो प्रस्तावमा १३ सदस्य देशले समर्थन गर्दै मत दिएका थिए।
उक्त प्रस्तावका सन्दर्भमा ‘हतारो’ भएको उल्लेख गर्दै अमेरिकी कूटनीतिज्ञहरुले त्यसअगाडि ‘उचित सल्लाह’ नगरिएको बताएका छन्। उक्त प्रस्तावमा अक्टुबर ७ तारिखमा हमासले इजरायलमा गरेको हमलाको निन्दा नगरिएकोप्रति पनि अमेरिकाले असमति जनाएको छ।
अमेरिकी प्रतिनिधिले सुरक्षा परिषद्मा भने, ‘अक्टुबर ७ मा हमासले जे गर्यो त्यसलाई कुनै पनि देशले सहन सक्दैन र सहनु पनि हुँदैन।’ प्रस्तावमा उल्लेख गरिएको ‘बिना सर्त युद्धविराम’ भन्ने विषयलाई अमेरिकाले ‘सबैभन्दा अवास्तविक हिस्सा’ भनेर टिप्पणी गरेको छ।
अमेरिकाको भनाइ छ, ‘यस्तो गर्दा हमास फेरि आफ्नो ठाउँमा उभिन सक्छ र फेरि उही घटना दोहोर्याउन सक्षम हुनसक्छ जो उसले ७ अक्टुबरमा गर्यो।’
अमेरिकाले तत्काल युद्धविराम गर्नु समस्याको समाधान नभएको पनि बताएको छ। अमेरिकी प्रतिनिधिले भने, ‘दुर्भाग्यपूर्ण रुपमा हाम्रा लगभग सबै प्रस्तावलाई नजरअन्दाज गरियो। यो हतारको परिणाम एक असन्तुलित समाधान देखियो, जो वास्तविकताभन्दा अलग छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।