विराटनगर– मोरङको विराटनगर महानगरपालिका–७ स्थित कबाडी पसलमा आगलागीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ।
बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दिपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।
पासवानको घटनास्थलमा नै मृत्यु भएको तथा मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। सुनिता कामतको भने काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।
आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारका लागि काठमाडौं लगिएको हो। उक्त आगो ६ वटा दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो। साथै आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।