काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्किएका छन्।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म संचालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भइ इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोलीसमेत स्वदेश फिर्ता भएको हो।
उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए।
महासभामा नेस्नल सेन्ट्रल ब्युरो (एनसीबी) नेपालका प्रमुख समेत रहेका आईजी कुँवरको टोली तथा इन्टरपोलका अध्यक्ष र महासचिवबीच शिष्टाचार भेट तथा छलफल समेत भएको थियो। साथै इन्टरपोलको ग्लोबल आउटरिच एण्ड रिजनल सपोर्टका प्रितिनिधि तथा भारत, चीन, युएईका प्रतिनिधि लगायत
विभिन्न मित्रराष्ट्रहरूसँग फरार प्रतिवादीहरू र क्षमता अभिवृद्धि लगायतका विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक समेत भएको थियो।
महासभाबाट इन्टरपोलको १९६औं सदस्य राष्ट्रको रुपमा द रिपल्बिक अफ पलाउलाई लाई निर्वाचनको माध्यमबाट मान्यता प्रदान गरिएको छ। महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ।
इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई इन्टरपोलबाट विशेष आमन्त्रण भइ उक्त महासभामा इन्टरपोलका अध्यक्ष मेजर जनरल डाक्टर अहमद नासिर अलरिसीबाट प्रमाणपत्र र इन्टरपोलका महासचिव जर्गेन स्टकबाट स्पेसल आइकनसहित सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।