बैतडी- विवरण भरेको लामो समयपछि बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। १ वर्ष अगाडि विवरण सङ्कलन गरिएको भए पनि तयार भएर ढिलो आएकोले अहिले वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम हालै सुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने पन्थीले बताए।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो।
प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ। कार्यालयका अनुसार सबै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ। पहिलो चरणमा १० हजार परिचयपत्र बैतडी आइपुगेका छन्।
अब समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय गरिएको छ। नगरिकतामा जन्ममिती सच्याएर अर्थात सरकारी निकायलाई झुक्याएर समाजिक सुरक्षा भत्ता दिने नागरिक विस्तारै घटने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। गत वर्ष १ सय बढी जना नागरिक राष्ट्रिय परिचयपत्रका लागि विवरण पेस गर्ने क्रममा नागरिकतामा जन्ममिति सञ्चाउने नागरिकलाई कारबाही भएको थियो।
वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान्-श्रीमतिको नाम, स्थायी-अस्थायी ठेगाना पर्दछन्। जैविक विवरण अन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ। नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण छ। राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।