पछिल्लो ५ वर्षमा मात्रै नेपालमा १ लाख ३८ हजार ४२३ वटा सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर १२ हजार ९६४ जनाले ज्यान गुमाएका छन् भने २६ हजार ८६५ जना गम्भीर घाइते र ७४ हजार १४८ जना साधारण घाइते भएका छन्।
सडक दुर्घटनामा ज्यान गुमाउनेमा पुरुष सबैभन्दा धेरै छन्। पछिल्लो ५ वर्षमा ९ हजार ७९५ जना पुरुष र २ हजार २६ जना महिलाले अकालमा ज्यान गुमाएका छन्। बालक ७५८ जना र बालिका ३८५ गरी १ हजार १४३ जना बालबालिकाले सडक दुर्घटनाको कारण ज्यान गुमाएका छन्।
सडक दुर्घटना तथा दुर्घटनामा परेर ज्यान गुमाउनेको तथ्याङ्क जति कहालीलाग्दो छ, त्योभन्दा बढी उदेकलाग्दो दुर्घटना न्यूनीकरणमा कुनै प्रयास नहुनु छ।
एक अध्ययनअनुसार अहिले विश्वभर १.२ विलियन सवारीसाधन सडकमा गुड्ने गरेका छन्। सन् २०३५ सम्म यो संख्या बढेर २ विलियन हुने अनुमान गरिएको छ। सडकमा दिनानुदिन सवारी साधनको संख्या थपिँदै जाने र दुर्घटना बढ्दै जाने हो भने अकालमा ज्यान गुमाउने संख्या झनै बढ्ने देखिन्छ।
डब्लुएचओको २०१५ को प्रतिवेदनलाई आधार मान्दा प्रत्येक वर्ष १२ लाख ५० हजार मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने यसमा ९० प्रतिशत मध्यम तथा निम्न आय हुने देशका छन्, जहाँ विश्वको ५४ प्रतिशत मात्र सवारी साधन छन्।
सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ भने चीन, अमेरिका, रसिया र ब्राजिल छन्। यही अवस्था रहने हो भने नेपाल पनि यो सूचिमा विस्तारै माथि उक्लिने छ।
सडक दुर्घटनाको मुख्य कारकका रुपमा सडक, सवारी र चालक मुख्य गरी जोडिन्छन्। तर, यी तिनवटै पाटोलाई दुरुस्त राख्ने प्रयास सरकारबाट अहिलेसम्म भएको छैन। हालसम्मकाे अध्ययनअनुसार चालक र सवारी साधनको अवस्था सडक दुर्घटनामा मुख्य जिम्मेवार देखिन्छन्। त्यस्तै, सडकको दूरावस्था पनि दुर्घटनाको अर्को प्रमुख कारक बनेको देखिन्छ।
पहिलो प्रयास त दुर्घटना हुनै नदिनेमा केन्द्रित हुनुपर्छ। त्यसका लागि सवारी चालकलाई प्रशिक्षण, उनीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको विषयमा भइरहेको उपेक्षालाई सुधार गरिनुपर्छ। लामो दूरीका सवारी साधनमा २ वटा चालक हुनुपर्ने व्यवस्थाको पालना गरिनुपर्ने विषय उपेक्षामा छ। यस्तै, सवारी साधनको नियमित यान्त्रिक परीक्षण तथा लामो दूरीमा चल्ने सवारी साधनलाई निश्चित दूरीमा ‘रेस्ट’ दिने विषयलाई पनि कार्यान्वयनमा ल्याइनुपर्छ। सडकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक संकेत तथा चिह्नको प्रयोग, सडकको वर्गीकरण र दूरावस्थाको सुधारतर्फ पनि कदम चालिनु आवश्यक छ।
दुर्घटना पछिको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनामा पनि राज्य र सम्बन्धित क्षेत्र अझै बढी जिम्मेवार हुनु आवश्यक छ। आफ्नो कमजोरी नहुँदा पनि सडक दुर्घटनामा गम्भीर घाइते भएका धेरैले कष्टकर रुपमा जीवन बिताइरहेका छन्। कतिपय त उपचार गर्ने खर्च नहुँदा कष्ट भोगिरहेका छन्।
सडक दुर्घटनामा देखिएको मानवीय (चालक) को कमजोरी मात्रै होइन, प्राविधिक (सवारी साधन र सडक) को दूरावस्थालाई पनि कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ। सवारी साधनको प्राविधिक गडबडीले हुने दुर्घटनामा सम्बन्धित सवारीका धनी तथा नियामक निकायका जिम्मेवार पदाधिकारीलाई पनि कारबाही हुने कानुनी व्यवस्था हुनुपर्छ। यस्तै, सडकको दूरावस्थाका लागि जिम्मेवार निकाय र अधिकारीलाई पनि जवाफदेही बनाउने व्यवस्था प्रयोगमा ल्याउन आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।