काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार साँझ साढे ७ बजेपछि मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
बैठकमा बिचौलियासँग घूसको संवाद गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् । उनलाई प्रधानमन्त्री ओलीले सोमबार बिहान बालुवाटार बोलाएर घूस संवादबारे सोधपुछ गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको थियो ।
मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ताको विषय घूस संवादको विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।
ओलीले घूस संवादबारे स्पष्ट विषय राख्नका लागि मन्त्री गुप्तालाई निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । तर, प्रधानमन्त्रीले घूसको संवाद गरेको मन्त्री गुप्ताको अडियो सार्वजनिक भएको तीन दिन बित्दासमेत बर्खास्त गरेका छैनन् ।
मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच कुरा भएको ९ मिनेट १३ सेकेन्डको अडियो सार्वजनिक भएको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियोमा सुनिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।