काठमाडौं– अभिनेता तथा चलचित्र समीक्षक कमल राशिद खानलाई मुम्बई प्रहरीले दुई वर्ष पुरानो एउटा मुद्दामा पक्राउ गरेको छ। सन् २०२० मा गरिएको एक विवादास्पद ट्विटको मुद्दामा उनलाई पक्राउ गरिएको हो।
स्रोतका अनुसार उनलाई मंगलबार बोरिवली अदालतमा पेस गरिने छ। कमललाई मुम्बई एयरपोर्टबाट सोधपुछका लागि पक्राउ गरिएको हो। उनी दुई वर्षपछि मुम्बई फर्किएका थिए।
कमलविरुद्ध २०२० मा, युवा सेनाको कोर कमिटीले मलाड पुलिस स्टेशनमा उजुरी दर्ता गरेको थियो। कमिटी सदस्य राहुल कनालले कमलले दिवंगत अभिनेता इरफान खान र ऋषि कपुरको बारेमा आपत्तिजनक ट्वीट गरेको आरोप लगाउँदै उजुरी दिएका थिए। यस घटनामा प्रहरीले कमलविरुद्ध धारा २९४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो।
केआरकेले २०२० मा इरफान खान (२९ अप्रिल) र ऋषि कपूर (३० अप्रिल) को निधनपछि ट्वीट गरेका थिए। उनले त्यसबेला ट्विटमा लेखेका छन्, ‘मैले केही दिन अगाडि भनेका थिएँ कि जबसम्म केही चर्चित व्यक्तिहरुलाई साथमा लिनेछैन तबसम्म कोरोना हट्दैन। त्यसपछि मानिसहरूले मलाई गाली गर्नेछन् भनेर मैले नाम लेखिनँ, तर ऋषि र इरफान जानेछन् भन्ने मलाई पहिल्यै थाहा थियो। मलाई यो पनि थाहा छ अर्को नम्बर कसको आउँदैछ।’
यतिमात्रै होइन ऋषि कपूर रिलायन्स अस्पतालमा भर्ना भएका बेला केआरकेले ट्विट गर्दै लेखेका थिए, ‘ऋषि कपूरलाई एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको छ। म उहाँलाई यति मात्र भन्न चाहन्छु कि सर, निको भएर छिट्टै फर्किनुस्, बाहिर ननिस्कनुस्, किनकि मदिरा पसल २–३ दिनमा मात्र खुल्ने गरेका छन्।’
हाल कमलको गिरफ्तारीबारे बयान जारी गर्दै राहुलले भने मुम्बई प्रहरीको प्रशंसा गरेका छन्। उनले यो गिरफ्तारीले यस्ता आपत्तिजनक बयान दिनेहरुविरुद्ध कडा सन्देश दिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।