काठमाडौं– भारतीय अभिनेता अजय देवगनको मुम्बईस्थित बंगलामा बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले तोडफोड गरेको छ। जुहूस्थित उनको बंगला कपोल को–अपरेटिभ हाउजिङ सोसाइटीमा अनुमति नलिई भित्री संरचनामा परिवर्तन गरिएको आरोपमा बीएमसीले निर्माणको केही हिस्सा भत्काएको हो।
बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्माण कार्य रोक्न वा आवश्यक स्वीकृतिसम्बन्धी कागजात पेस गर्न निर्देशन दिइएको थियो।
निर्देशन पालना नगरे थप सूचना नदिई अवैध निर्माणको हिस्सा भत्काउने र त्यसमा लाग्ने खर्च घरधनीबाट असुल गर्ने चेतावनीसमेत बीएमसीले दिएको थियो।
अजय देवगनले सूचनाको जवाफ दिन थप चार साताको समय मागेका थिए। तर, बीएमसीका अनुसार उनले त्यसपछि कुनै जवाफ दिएनन्।
यसबीच बंगलाभित्रका भित्री भित्ता, झ्याल तथा अन्य संरचनामा परिवर्तन गर्ने काम जारी रहेको पाइएको थियो। आवश्यक स्वीकृति पेस नगर्नु र काम रोक्न दिएको निर्देशनको पालना नभएपछि बीएमसीले तोडफोडको कदम चालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।