



काठमाडौं - सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बाँके संग्रामपुर सडकखण्डअन्तर्गत बाँकेचोक नजिकै ई-रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
बुधबार दिउँसो बाँकेचोकबाट श्रीनगरतर्फ जाँदै गरेको म.प्र.–०३–००१ ह ६३११ नम्बरको ई-रिक्सा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा ई-रिक्सा चालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ ।
घाइते हुनेमा ई-रिक्सा चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी ४६ वर्षीय प्रमेश्वर महतो कोइरी, सोही स्थानकी ७० वर्षीया सुगावती देवी महतो, महोत्तरीको गौशाला नगरपालिका–१२ पुरानो कान्तिबजार निवासी ७० वर्षीय बलदेव राम र सोही स्थानकी ४० वर्षीया सुनिता राम रहेका छन् ।
त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका–८ शान्तपुर निवासी ४० वर्षीय लालबाबु माझी, उनकी ३५ वर्षीया श्रीमती बालकुमारी माझी तथा सर्लाहीको हरिपूर्वा नगरपालिका–९ निवासी १७ वर्षीय अमलेश कुमार चौधरी पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइतेमध्ये छ जनाको महारानी बजारस्थित महारानी हेल्थ केयरमा र एक जनाको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलजोरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा संलग्न ई-रिक्सा नियन्त्रणमा लिएर प्रहरी चौकी फुलजोरमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।