पोखरा– पोखराको लामाचौरमा जारी लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप पुरुष राष्ट्रिय भलिबलमा सशस्त्र प्रहरी बल एपीएफले विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा एपीएफले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटको सोझो सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो।
त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको टिमबीचको खेल भने स्थगित भएको छ। लाइट प्रोटेस्टको कारण स्थगित भएको खेल सोमबार बिहान हुनेछ। यसअघि शनिबारको खेलामा नेपाल पुलिसले मणिमुकुन्दलाई ३–१ सेटमा हराएको थियो।
सोमबार महिला र पुरुषतर्फ गरी कुल ४ खेल हुने आयोजकले जनाएको छ। पुरुषतर्फ पहिलो खेल आर्मी र गण्डकी, दोस्रो खेल एपीएफ र नेपाल पुलिसबीच हुनेछ।
महिलातर्फ पहिलो खेल नेपाल पुलिस र गण्डकी तथा अर्को खेल न्यू डायमण्ड र त्रिभुवन आर्मीबीच हुनेछ। अविरल वर्षाका कारण निर्धारित खेल तालिका परिवर्तन भएको हो।
बिगतमा महिला भलिबल मात्र हुँदै आएकोमा यसवर्ष पुरुष राष्ट्रिय भलिबल पनि थपिएको हो। खेल लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा भएको छ।
प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका छन्। महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् भने पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिएको प्रतियोगिता संयोजक शुसिलकुमार श्रेष्ठले बताए।
दुवैतर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।