काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल भ्रमणमा आएका छन्। आइबार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन्।
उक्त कार्यक्रममा बोल्दै भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताए। अभिनेता गोविन्दाले दर्शकहरुले कलाकारलाई सधैं साथ दिनुपर्ने बताए ।
उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए। हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ।
कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने दाबी गरे। कलाकारहरुले व्यापार, व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकाले कलाकारका धनदाता र मातापिता उद्योगी,व्यवसायीहरु नै भएको उनको भनाइ छ।
‘दर्शकहरुले कलाकारलाई सधैं साथ दिनुपर्छ। नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस्। नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो,’ उनले भने, ‘जो काम हामी गर्छौं त्यो काम मानिसले याद गर्ने किसिमको होस्। कला संसारको अभिन्न अंग हो। नयाँ विचारहरुले भरिएको हुन्छ। कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ। पैसा भएर पनि पहिचान हुँदैन। तर कला यस्तो चिज हो जसले दुवै दिन्छ।’
भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रुपमा भाग लिन गोविन्दा नेपाल आएका हुन्। चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।