भैरहवा– रूपन्देहीका साहित्यकारहरुले मोतीराम भट्टको १ सय ५७ औं जयन्तीका अवसरमा उनलाई सम्झिँदै काव्य गोष्ठी गरेका छन्।
कार्यक्रमका प्राज्ञ बुंद रानाले मोतीराम भट्टले नेपाली साहित्यमा योगदान गरेको बताउँदै नेपाली पत्रकारिता, नेपाली गजल र समालोचनाका प्रवर्तक भएको बताए।
मोती जयन्तीका अवसरमा नेपाली साहित्यमा योगदान गरेको भन्दै साहित्यकारहरु डिल्लीराज भट्टराई, तिलक लामिछाने, रमा जैसी, शारदा विक, भविश्वर पंगेनी र बासुदेव पोख्रेल सम्मानित भएका छन्।
उक्त अवसरमा साहित्यिक सोपान अंक ७ मुक्तक विशेषाङ्क पनि प्रकाशन गरी विमोचन गरिएको छ। विमोचन भएको साहित्यिक सोपानको बारेमा समीक्षा गर्दै साहित्यकार रमेश समर्थनले सोपान अंक ७ मुक्तक विशेषाङ्कका रुपमा पठनिय संग्रह प्रकाशन गर्न सफल भएको बताए। साहित्यिक सोपान अंक ७ सिसासको प्रकाशन र शशि पन्थीको सम्पादन रहेको छ।
मोतीराम भट्टको बारेमा सिसासका पूर्वअध्यक्ष छवि ज्ञवालीले प्रकाश पारेका थिए। कार्यक्रममा सिसासका संस्थापक अध्यक्ष सुरज घिमिरे, साहित्यकार बनमाली निराकार, सीता काफ्ले, सिसासका पूर्वअध्यक्ष छविलाल न्यौपाने लगायतले रचना वाचन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।