काठमाडौं- मनोज गजुरेलले नेपालका मात्रै होइन, विश्वका नेताहरु डोनाल्ड ट्रम्पदेखि श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापक्षेकोसम्म क्यारिकेचर गरेका छन्।
गजुरेलले यसपल्ट फेरि केही फरक गरेका छन्। त्यो हो, आफ्नै आमाको अवतारमा आफूलाई प्रस्तुत गर्नु। पहेँलो फुलबुट्टे सारी, ढाकाको चोली र पछ्य्यौरी, सेताम्मै फुलेको कपाल अनि आँखा मुनी डार्क सर्कल बनाएका छन्।
बाबाको मुख हेर्ने दिनको अवसरमा आफ्नै आमासँग तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेका छन्। उनले भनेका छन्, 'बाबाको मुख हेर्ने दिन दुई आमाको मुखामुख।'
त्यसअघि आफ्नो आमाको अवतारको तस्बिर राख्दै उनले लेखेका थिए- 'आमाको अनुहार छोरासँग मिल्नु र छोराको अनुहार आमासँग मिल्नु ! संयोग हैन, सत्य हो।'
शुक्रबार प्रज्ञा प्रतिष्ठानमा सिस्नुपानी नेपालले गरेको हास्यव्यंग्य कार्यक्रममा उनी आमाको भेषमा प्रस्तुत भएका हुन्। नारीको त्याग र तपस्या प्रस्तुत गर्ने क्रममा गजुरेलले आफ्नै आमा सम्झिएका हुन्। उक्त कार्यक्रम शनिबार आफ्नो युट्युबमार्फत् सार्वजनिक हुने उनले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।