काठमाडौं– कवि चन्द्र गुरुङको कविताकृति ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ। काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आइतबार भएको कार्यक्रममा कविहरू श्रवण मुकारुङ, विन्दु शर्मा र लेखक तथा समीक्षक राजकुमार बानियाँले उक्त कृति सार्वजनिक गरे।
‘जब एउटा मान्छे हराउँछ’ कवि गुरुङको दोस्रो कविताकृति हो। यसमा ५० थान कविता समेटिएका छन्। यसअघि गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ कवितासंग्रह प्रकाशति भएको थियो।
उनको नयाँ कविताकृति सार्वजनिक कार्यक्रममा कवि श्रवण मुकारुङले दशकौंपछि पढ्दासमेत पुराना नलाग्ने कविता सृजना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताए। उनले भने, ‘सर्जकले आज सृजना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्नु हुँदैन। भोलिको समयलाई समेत सान्दर्भिक हुने रचना गर्नसक्नु नै लेखकीय सामर्थ्य हो।’
कवि विन्दु शर्माले चन्द्र गुरुङका कविता सरल भइकन पनि गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन्। उनले भनिन्, ‘गुरुङका कविता सरल शब्दशैलीका छन्। तर, त्यसले दिने भाव गहिरो छ। उनका कविताले आफैंसँग संलाप गरिरहेजस्तो लाग्छ।’
समीक्षक राजकुमार बानियाँले कवि गुरुङका कवितामा निष्ठा देखिने बताए। ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन्। उनले कविताबाटै आफूलाई सम्पूर्ण रूपले पुष्टी गरेका छन्’, बानियाँले भने ।
यो कविताकृति इन्डिगो इन्कले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।