जुम्ला– कर्णालीका डाँडाकाँडामा हुर्किएका भाषा, लोकजीवनमा बाँचेका संस्कृति र राज्यको मूलधारबाट ओझेलमा परेका समुदायका आवाजलाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउने उद्देश्यसहित जुम्लामा सोमबार ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना हुँदैछ।
‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ मूल अवधारणामा आधारित सम्मेलनले साहित्यलाई केवल सिर्जना र सौन्दर्यको विषयमा सीमित नराखी सामाजिक विभेद, क्षेत्रीय असमानता, राजनीतिक प्रतिनिधित्व, स्थानीय ज्ञान र सांस्कृतिक पहिचानका प्रश्नसँग जोड्ने प्रयास गरेको छ। कुटिरो रिसर्च प्रालिको आयोजनामा होटल कान्जिरोवामा बिहान १० बजेदेखि सुरु हुने सम्मेलनमा साहित्यकार, लेखक, अध्येता, अनुसन्धानकर्ता, प्राध्यापक, पत्रकार तथा स्थानीय ज्ञानका जानकार सहभागी हुनेछन्।
आयोजकका अनुसार सम्मेलनको उद्देश्य कर्णालीलगायत देशका विभिन्न सीमान्तकृत भूगोल, समुदाय, भाषा र संस्कृतिका अनुभवलाई राष्ट्रिय साहित्यिक तथा बौद्धिक बहसमा स्थान दिनु हो। कर्णालीको मौलिक भाषा, देउडा, लोकगीत, परम्परागत ज्ञान र जीवनपद्धतिको संरक्षण तथा प्रवर्द्धनलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ।
साहित्यबाट विभेदसम्म, बहसको दायरा फराकिलो
आइतबार होटल दौतरीमा आयोजित पत्रकार सम्मेलनमा कुटिरो रिसर्च प्रालिका अध्यक्ष महेश नेपालीले सीमान्तमा रहेका समुदायका अनुभव, ज्ञान र सिर्जनालाई मूलधारको बहसमा ल्याउनु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए।
सम्मेलनमा साहित्य र सीमान्त साहित्यदेखि स्खलित मानवीयता तथा विभेदको पराकाष्ठासम्मका विषयमा छलफल हुनेछ। साहित्यलाई समाजको यथार्थसँग जोड्दै किनारामा पारिएका मानिसका अनुभव र अभिव्यक्तिलाई कसरी बुझ्ने भन्ने प्रश्न बहसको केन्द्रमा रहनेछ।
‘साहित्य र सीमान्त साहित्य’ सत्रमा लेखक डा. नवराज केसी, अध्येता कुन्साङ र लेखक महेन्द्र अतल वक्ताका रूपमा सहभागी हुनेछन्। कवि धर्मेन्द्र अधिकारीले सहजीकरण गर्नेछन्।
त्यस्तै, ‘स्खलित मानवीयता, पराकाष्ठा विभेदको’ शीर्षकको सत्रमा भरत नेपाली, कौशीला नेपाली र गजेन्द्र महत कार्माले आफ्ना विचार राख्नेछन्। भिन कसिङ्गरले सत्रको सहजीकरण गर्नेछन्। यस सत्रले मानवीयता, सामाजिक विभेद र सीमान्तकृत समुदायले भोगिरहेका समस्यामाथि विमर्श गर्ने अपेक्षा गरिएको छ।
०८४ को चुनाव र क्षेत्रीय बञ्चितीकरणमाथि प्रश्न
सम्मेलनले साहित्य र संस्कृतिका विषयसँगै राजनीतिक प्रतिनिधित्व तथा राज्यको शासन प्रणालीमा क्षेत्रीय पहुँचको प्रश्नलाई पनि बहसमा समेटेको छ।
‘चुनाव ०८४ : पुरानैको निरन्तरता कि नयाँको दबदबा’ शीर्षकको सत्रमा रामदेवी खड्का, रामन बुढा र अनिता नेपाली वक्ताका रूपमा सहभागी हुनेछन्। महेश रावलले सहजीकरण गर्ने उक्त सत्रमा आगामी निर्वाचनले राजनीतिक नेतृत्व, प्रतिनिधित्व र परिवर्तनका आकांक्षामाथि पार्न सक्ने प्रभावका विषयमा छलफल हुनेछ।
त्यस्तै, ‘भौगोलिक सीमान्तता तथा क्षेत्रीय बञ्चितीकरण : शासन–प्रशासन’ सत्रमा गोमा गौतम, प्रकाशचन्द्र खत्री र राजेश विश्वकर्माले विचार राख्नेछन्। रामसिंह रावलले सहजीकरण गर्ने सत्रमा भौगोलिक अवस्थाका कारण राज्यका सेवा, अवसर र प्रशासनिक पहुँचमा देखिने असमानताका विषय उठाइनेछ।
कर्णालीजस्ता भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकले भोग्ने सेवा प्रवाह, अवसरको उपलब्धता र राज्यसँगको सम्बन्धबारे बहस गर्ने सम्मेलनको यो सत्रले सीमान्तताको प्रश्नलाई साहित्यिक दायराभन्दा बाहिर लगेर नीतिगत तथा प्रशासनिक विमर्शसँग जोड्नेछ।
सीप, शिल्प र संस्कृतिको पहिचान
स्थानीय सीप, परम्परागत पेसा र सांस्कृतिक अभ्यास पनि सम्मेलनका महत्त्वपूर्ण विषय हुनेछन्। ‘सीप, शिल्प र संस्कृति’ सत्रमा राममाया कुलाल, याङ्जोम तामाङ र खुम्मीलाल सार्की वक्ताका रूपमा सहभागी हुनेछन्। धनराज सुनारले सहजीकरण गर्नेछन्।
स्थानीय समुदायले पुस्तौँदेखि जोगाउँदै आएका सीप, हस्तकला, श्रम र सांस्कृतिक अभ्यासलाई ज्ञानको महत्त्वपूर्ण स्रोतका रूपमा कसरी स्थापित गर्ने भन्ने विषय यस सत्रको मुख्य आकर्षण हुनेछ। परम्परागत सीप र संस्कृतिको संरक्षणसँगै तिनको सामाजिक पहिचान तथा महत्त्वमाथि छलफल गरिनेछ।
सम्मेलनको उद्घाटन सत्रमा कुटिरो रिसर्च सेन्टरद्वारा प्रकाशित लेखक लक्ष्मणबहादुर शाहीको नयाँ पुस्तक ‘आधा अध्याय’ को गृह विमोचनसमेत गरिने आयोजकले जनाएको छ।
कविता, गजल र गीतसँगै ‘कुटिरो कन्सर्ट’
विचार र बहसमा मात्र सीमित नरहने सम्मेलनमा कविता, गजल र गीतका प्रस्तुतिसहित ‘कुटिरो कन्सर्ट’ पनि आयोजना हुनेछ। स्थानीय तथा अन्य क्षेत्रका सिर्जनात्मक आवाजलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले कन्सर्टमा गीत, कविता र गजलका छुट्टाछुट्टै प्रस्तुति राखिएको छ।
गीततर्फ रवि, अर्जुन र पञ्चकलीले प्रस्तुति दिनेछन्।
कवितातर्फ यामराज कार्की, देवकी खत्री, डीबी शाही, खडानन्द चौलागाईं, रामु विश्वकर्मा, सलिन, बीपी अस्तु र दोस्ताज सहभागी हुनेछन्। गजल विधामा सुमन स्मारिका, सन्तोषी, खेम बगर र नवीन रोकायाले प्रस्तुति दिने कार्यक्रम छ।
यसरी साहित्यिक बहस, सामाजिक मुद्दामाथिको संवाद र सांगीतिक प्रस्तुतिलाई एउटै मञ्चमा जोडेर सम्मेलनले सीमान्तका आवाजलाई विचार र कलाका दुवै माध्यमबाट अभिव्यक्त गर्ने प्रयास गरेको छ।
कर्णालीको भाषा, साहित्य, लोकसंस्कृति र स्थानीय ज्ञानलाई राष्ट्रिय बहससँग जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको सम्मेलनले सीमान्तमा रहेका समुदायका अनुभवलाई सुन्ने मात्र नभई तिनलाई ज्ञान, सिर्जना र विमर्शको केन्द्रमा स्थापित गर्ने बहस अघि बढाउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।