काठमाडौं– अनुप बरालको निर्देशनमा बनेको फिल्म ‘दोख’को टिजर सार्वजनिक भएको छ। टिजर आइतबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
टिजरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ। फरक किसिमले प्रस्तुत गरिएको टिजरमा एक बालक र एक बृद्धलाई केन्द्रमा राखिएको छ। टिजरमा जनयुद्धपछिको कथामा फिल्म आधारित भएको भान हुन्छ।
द्वन्द्वकालीन समयको कथा बोकेको यो फिल्मका नेपालका विभिन्न भू–भागको कथा देखाइएको छ। खेलसँग जोडेर राजनीतिक अवस्थालाई प्रस्तुत गरिएको फिल्मको कथा राजन कठायतको रहेको छ।
फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमनी सापकोटा, माओत्से गुरुङ, रोय दिभ, सुजय मल्ललगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको सम्पादन निमेश श्रेष्ठले गरेका छन्। पुष्पा संगमको पाश्वध्वनी रहेको फिल्मका रंग संयोजक भने प्रिन्स श्रेष्ठ रहेका छन्। फिल्म सविन ज्ञवाली र मनोज अधिकारीको लगानीमा बनेको हो।
ए एसजिटी प्रोडक्सन, एक्टर स्टुडियो, ग्रिन हिल इन्टरटेनमेन्ट र हाइलाइट्स नेपालको संयुक्त ब्यानरमा बनेको फिल्म आगामी असार २४ गते प्रदर्शनमा आउँदै छ।
हेर्नुहोस टिजरः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।