‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?’
कक्षा ५ को ‘मेरो नेपाली’ किताबमा समावेश ‘नैतिक दृष्टान्त’ शीर्षकको कवितामा उद्धृत हरफ हो, यो। कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित यो कविताको भाव कुनै क्रिकेट खेलाडीसँग तुलना गर्नुपर्यो भने त्यो भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरसँग मेल खान्छ।
करिब २५ वर्ष लामो खेल जीवनमा मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि उनी कहिल्यै विवादमा आएनन्। त्यसैले पनि उनलाई भारतीय क्रिकेटको ‘भगवान’ भनिएको होला। तर, यतिबेला हामी सचिनको भन्दा पनि आफ्नै देशका पूर्वकप्तान पारस खड्काको सन्यासको विषयमा कुरा गरिरहेका छौं। पारस नेपाली क्रिकेटले अहिलेसम्म जन्माएको सबैभन्दा प्रभावशाली क्रिकेट खेलाडी हुन् भन्दा अर्को अर्थ नलाग्ला।
जीवनको अमूल्य १९ वर्ष क्रिकेटलाई दिनु र नेपाली क्रिकेट समर्थकको ढुकढुकी बन्नु साँच्चि नै कठिन कुरा हो। यसमा पनि आफूले किशोर अवस्थामा रोजेको खेलबाट अप्रत्यासित राजीनामा घोषणा गर्नु वास्तवमै असहज परिस्थिति हो। यही परिस्थितिको सामना गर्दै पारसले गत मंगलबार बिहान बल र ब्याट थन्क्याउने निर्णय गरे।
उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्ने क्रममा लेखेका छन्, ‘क्रिकेटरको रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें। मेरो जीवनमा मेले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो।’
उनले एउटा विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘अन्तर्राष्ट्रिय रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन्।’
नेपालले पारसकै कप्तानीमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि एकदिवसीय टिमसम्मको सफलता प्राप्त गरेको गौरवशाली इतिहास छ। अझ, उनको नेतृत्वमा नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकप खेलेर सनसनी मच्चाएको थियो।
वास्तवमा पारस नेपाली क्रिकेटमा यत्तिकै सफल भएका होइनन्। नेपाली क्रिकेटमा सफल कप्तान बन्न उनले गरेको संघर्ष र मिहिनेत कुनै पनि युवाका लागि प्रेरणा बन्नसक्छ। सन् २००१ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको टीयू मैदानमा दर्शकदीर्घाबाट एसीसी यू–१५ क्रिकेट प्रतियोगिता हेरेपछि पारसलाई क्रिकेटप्रति मोह जागेको थियो।
यसअघि उनले टेबल टेनिस, बास्केटबल र फुटबलमा भविष्य खोजेका थिए। उनलाई त्यो प्रतियोगितापछि टीयू क्रिकेट मैदानको बीच भागमा रहेको क्रिजमा उत्रिएर क्रिकेट खेल्ने भोक जाग्यो। यही भोकका कारण उनी अर्को वर्ष सन् २००२ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको यू–१५ एसिया कपका लागि नेपाली टोलीमा छानिए। यूएईबाट सुरू भएको उनको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा गत मंगलबार सन्यासको घोषणासँगै टुङ्गिएको छ।
कमाण्ड सम्हाल्ने अवसर
उनले १६ वर्षको उमेरमै अर्थात् सन् २००३ मा यू–१९ टिममा स्थान बनाए। उनी सहभागी त्यो टिम यू–१९ विश्वकपका लागि छनोट भएको थियो।
पाकिस्तानको कराँचीमा भएको युथ एसिया कपमा उनले भारतविरुद्ध पनि खेल्ने मौका पाए। क्रिकेट खेलेको दुई वर्षमै पारसको खेल जीवनले नयाँ मोड लियो। सन् २००४ मा काठमाडौंमा मलेसियाविरूद्ध आयोजना भएको ‘थ्री डे’ खेलमार्फत् उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। राजु खड्काको कप्तानीमा रहेको त्यो टिममा उनले डेब्यु गर्ने क्रममा पहिलो इनिङमा ४४ रन बनाउनुका साथै १ विकेट पनि लिएका थिए। नेपालले यो खेल ९ विकेटले जितेको थियो।
सन् २००४ बंगलादेशमा आयोजना भएको आईसीसी यू–१९ विश्वकपमा नेपालले टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई पराजित गर्दा पारस टिमका महत्त्वपूर्ण सदस्य थिए।
राम्रो प्रदर्शनका कारण उनलाई सन् २००५ मा यू–१९ टिमको उपकप्तानमा बढुवा गरियो। सन् २००६ मा श्रीलंकामा भएको आईसीसी यू–१९ विश्वकप प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्याण्डलाई नेपालले पराजित गर्दा पनि उनी टिमको महत्त्वपूर्ण खेलाडी थिए।
पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यू–१९ च्याम्पियनसिपबाट उमेर समूहको टोलीमा कप्तानी सम्हाल्ने मौका पाएका हुन्। सो प्रतियोगितामा उनी ‘उत्कृष्ट खेलाडी’ मात्र घोषित भएनन्, सोही वर्ष उनलाई एसीसी ‘इमर्जिङ प्लेयर अफ दि इयर’को अवार्डबाट सम्मानित गरियो।
सन् २००८ को आईसीसी यू–१९ विश्वकपमा नेपाली टिमको कप्तानी गर्ने सौभाग्य पाएका पारसको प्रदर्शनबाट अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी) यति प्रभावित भयो, विश्वकप स्मारिका कार्यक्रममा पारसलाई टेस्ट राष्ट्रको टिममा हुनुपर्ने खेलाडी भन्दै सम्बोधन गरियो।
छोटो समयमा यति धेरै उपलब्धि हात पार्दा पनि उनले क्रिकेटमा खासै भविष्य देखेनन् र अध्ययनका लागि अस्ट्रेलिया जाने प्रयास गरे। तर, यसलाई संयोग नै मान्नुपर्ला, यही वर्ष राष्ट्रिय टोलीबाट राजुको बहिर्गमन र अस्ट्रेलिया जाने भिसा नलाग्नु, पारसका लागि कालान्तरमा मिठो अनुभव बन्न पुग्यो।
राजुको बिदाइपछि विनोद दासले छोटो समय राष्ट्रिय टोलीको कप्तानी गरे। यसपछि नयाँ कप्तानको खोजी सुरू भयो। सन् २००९ मा नयाँ कप्तान खोजीका लागि वरिष्ठ प्रशिक्षक अरुण अर्यालको नेतृत्वमा पूर्वकप्तान राजु खड्कासहितको छनोट समिति गठन भएको थियो। कप्तानको दौडमा त्यतिबेला शक्ति गौचन, महबुब आलम र वसन्त रेग्मी जस्ता सिनियर खेलाडी थिए।
तर, आफ्नो नेतृत्वमा क्रिकेट खेलेका पारसलाई ‘लामो इनिङको कप्तान’ बन्नसक्ने खुबी भएको खेलाडी भन्दै राजुले समर्थन जनाए। यसपछि सबैलाई चकित पार्दै पारस राष्ट्रिय टोलीको कप्तान नियुक्त भए।
उनलाई कप्तान नियुक्त गर्दा केही खेलाडी तथा प्रशिक्षकले असन्तुष्टि जाहेर नगरेका होइनन्। तर, दुई वर्षअघि पूर्वकप्तान दासले पारसको कप्तानीको तारिफ गर्दै भनेका थिए, ‘पारस नेपाली क्रिकेटको नेतृत्व गर्ने अहिलेसम्मको सफल कप्तान हुन्। युवा उमेरमै सिनियर टिमको कप्तानी दिँदा उनले त्यसलाई न्याय गरे।’
सन् २००९ को एसीसी टी–२० कपका लागि पारसले नै टोलीको नेतृत्व सम्हालेका थिए। २२ वर्षको उमेरमा कप्तानको जिम्मेवारी पाएका पारसको कप्तानीमा नेपालले पहिलो खेल यूएईमा खेलको थियो। नेपाल मलेसियासँग पराजित भयो। तर पनि उनी विचलित भएनन्। यसको ६ महिनापछि आफूलाई प्रमाणित गर्ने क्रममा उनले सन् २०१० मा घरेलु मैदानमा नेपाललाई डिभिजन–५ को उपाधि दिलाए। यो सिनियर टिमको पहिलो उपाधि थियो।
लगत्तै नेपालले डिभिजन–४, डिभिजन–३ को उपाधि पनि जित्यो। सन् २०१२ मा नेपालले ‘एसीसी ट्रफी’ को उपाधि जित्दा पारसको प्रदर्शन उत्कृष्ट रह्यो। उनी ‘प्लेयर अफ द सिरिज’ घोषित भए। अझ, उनी कुवेतविरूद्ध ७७ बलमा अविजित १ सय ६ रन प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने छैटौं नेपाली ब्याट्सम्यान बने।
पारसको कप्तानीमा नेपालले सन् २०१३ मा बर्मुडा र सन् २०१४ मा मलेसियामा डिभिजन–३ को उपाधि चुम्यो। पारसको कप्तानीमा नेपालले बंगलादेशमा विश्व टी–२० प्रतियोगितासमेत खेल्यो। टी–२० विश्वकपमा पारसले हङकङविरुद्ध पहिलो बलमा विकेट लिँदै डेब्युमा पहिलो बलमा विकेट लिने कीर्तिमान रचे। उनी टी–२० क्रिकेटमा यसो गर्ने विश्व क्रिकेटका १०औं बलर बन्न पुगे।
उनको कप्तानीमा नेपाल एकदिवसीय विश्वकपका लागि छनोट नभए पनि डिभिजन–२ सम्म पुग्न सफल भयो। विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१५–१७) अन्तर्गत आईसीसीले नेपाललाई पुनः प्रमाणित गर्ने मौका दिएको थियो। तर, अफगानिस्तान र आयरल्याण्डले एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाल र केन्याले डिभिजन–१ मा उक्लिने सौभाग्यबाहेक ठूलो उपलब्धि हात पार्न सकेनन्। यो प्रतियोगिता जितेको भए नेपालले सोझै विश्वकप छनोट खेल्न पाउँथ्यो। तर, आठ देशबीचको स्पर्धामा नेपाल सातौं बन्यो र फेरि पनि अवसरबाट बञ्चित भयो।
नेपालले सन् २०१९ मा पहिलोपटक टी–२० र एकदिवसीय शृंखला जितेको थियो। घरेलु टिम यूएईविरूद्ध तीन खेलको दुवै सिरिज नेपालले २–१ ले जित्यो। १० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेका पारसले सोही वर्ष असोजमा कप्तानीबाट राजीनामा गरेका थिए। सन् २०२० मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी टी–२० इस्टर्न रिजन नै पारसको लागि अन्तिम खेल बन्यो। गत वैशाखमा घरेलु मैदानमा भएको नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको ‘त्रिकोणात्मक सिरिज’ नेपालले जित्दा उनी टिममा अटाउन सकेनन्। उनले चोटका कारण टिमबाट अन्तिम समयमा नाम फिर्ता लिए।
पारस नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय, एकदिवसीय अन्तर्राष्ट्रिय र लिस्ट ‘ए’ मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले १० एकदिवसीयमा १ शतकसहित ३१५ रन बनाएका छन् भने ९ विकेट लिएका छन्। ३३ टी–२० मा १ शतकसहित ७९९ रन बनाएका पारसले ८ विकेट लिएका छन्। यस्तै, ४४ लिस्ट ‘ए’ खेल्दै ३ शतकसहित १४ सय ९७ रन र २६ विकेट लिएका छन्।
नेपालले टी–२० विश्वकप खेल्नु र एकदिवसीय मान्यता पाउनुबाहेक अघिल्लो वर्ष पारसलाई आईसीसीले ‘शताब्दीको उत्कृष्ट खेलाडी’को मनोनयनमा राखेको थियो।
मैदानभित्र नेतृत्व र प्रदर्शन दुवैमा अब्बल मानिएका पारस सिनियर टिमको ठूला उपलब्धिका साक्षी हुन्। उनको नेतृत्वमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले असाधारण उपलब्धि हात पारेको सत्य हो।
‘धोनी’ बन्न चुकेका पारस
तर, मैदानबाहिर पारसको अर्को व्यक्तित्व छ। सन् २०१४ मा नेपालले बंगलादेशमा टी–२० विश्वकप खेलेपछि आम नेपाली क्रिकेट समर्थकलाई लागेको थियो, अब नेपाली क्रिकेटको दशा र दिशा बदलिनेछ।
तर, भयो उल्टो। विश्वकपमा अफगानिस्तान र हङकङलाई पराजित गरेपछि पारसलाई भारतका तत्कालीन कप्तान ‘महेन्द्र सिंह धोनी’ सँग तुलना गर्न थालिएको थियो। तर, पारस धेरै अर्थमा ‘नेपाली धोनी’ बन्ने अभियानबाट चुके।
बंगलादेशबाट विश्वकप खेलेर फर्किने क्रममा उनकै नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीविरूद्ध नाराबाजी भयो। क्यानका पदाधिकारीविरूद्ध भ्रष्टाचारको आरोप लगाउँदै उनी अख्तियारसम्म पुगे। क्यानको सांगठनिक सुधारको विषयमा कुरा उठाउनु जायज कुरा भए पनि उनी संगठनभन्दा व्यक्तिविरुद्ध जाइलागे। पारसजस्तो अन्तर्राष्ट्रिय छवि बनिसकेको खेलाडीका लागि यो सुहाउने कुरा थिएन।
बंगालादेशबाट फर्किएपछि उनको सोच टेस्ट मान्यताप्राप्त राष्ट्र भारत र अस्ट्रेलियासरह नेपालको क्रिकेट माथि उठिसकेको र नेपाली खेलाडी पनि ती देशको खेलाडी बराबर भएको मान्यता राख्नु नै गलत थियो।
बंगलादेशमा आयोजना भएको टी–२० विश्वकप खेल्ने राष्ट्रमा नेपाल मात्र यस्तो देश थियो, जसको स्रोतसाधन सबैभन्दा कमजोर थियो। क्रिकेटमा कुनै दह्रो प्रायोजक थिएन। टीयूबाहेक खेल्ने अर्को मैदान थिएन।
वास्तवमा बंगलादेशमा टी–२० विश्वकप खेलेर फर्किएपछि पारसको भूमिका सकारात्मक भएको भए नेपाली क्रिकेटले काँचुली फेर्ने पक्का थियो। त्यतिबेला नेपालमा क्रिकेटबाहेक अन्य कुनै कुरा हुँदैनथ्यो। सबैको ध्यान क्रिकेटतर्फ केन्द्रित थियो। उनले त्यतिबेला नेपाली कर्पोरेट जगत, नेपाल सरकार तथा क्रिकेट प्रेमीहरूलाई आह्वान गरेको भए, आज नेपालको सिनियर टोलीले मात्र होइन, नेपालको उमेर समूहका खेलाडी पनि मासिक भत्ता पाउने थिए।
नेपाली टोलीको बढ्दो उपलब्धिलाई देखेर सन् २०१५ मा भारतको चेन्नईमा आयोजना भएको एसियाली क्रिकेट महासंघ ( एसीसी) को बैठकमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का तत्कालीन अध्यक्ष एन श्रीनिवासनले नेपालको क्रिकेट विकासका लागि सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका थिए।
उनले नेपाली खेलाडीलाई ३/४ महिना ‘एमआरएफ क्याम्प’मा प्रशिक्षण दिलाउने आश्वासन मात्र दिएका थिएनन्, सन् २०१३ को एसीसीको बैठकमा टेस्ट नखेल्ने राष्ट्रका लागि ‘स्कोर कार्ड’ लागू गरेर एसिया कपको आम्दानीबाट वार्षिक अढाइ लाख डलर प्रदान गर्ने निर्णय गराएका थिए।
यो वास्तवमा नेपालको क्रिकेट विकासलाई हेरेर गरिएको निर्णय थियो। उनले लागू गरेको ‘स्कोर कार्ड’मा नेपालले लगातार दुई वर्ष उच्च अंक प्राप्त गरेको थियो। त्यसबापत नेपालले पाँच लाख अमेरिकी डलर प्राप्त गर्दै थियो। तर, उक्त रकम रिलिज नहुँदै पारस र पूर्वप्रशिक्षक पुबुदु दासनायकेको क्यान पदाधिकारीविरूद्धको अभियानले गर्दा रोक्का भयो।
यो काण्डमा विदेशी प्रशिक्षक भए पनि पुबुदु बयान दिन अख्तियार नै पुगे। रमाइलो कुरा, करार अवधि पूरा भएका पुबुदुलाई पुनः प्रशिक्षकमा नियुक्त नगरे क्रिकेट नखेल्ने पारसको सार्वजनिक घुर्कीपछि क्यानले पुबुदुको अनुबन्धको मासिक तलब नै ८ हजार डलर पुर्याउनुपर्यो। यो रकम ‘एसोसिएट राष्ट्र’ मा कुनै पनि देशले प्रशिक्षकलाई तिरेको सबैभन्दा महँगो रकम थियो।
अख्तियारले मुद्दा विशेष अदालतमा दर्ता गर्यो। तत्कालीन अध्यक्ष टंक आङबुहाङसहित १० जनाविरूद्ध दर्ता भएको यो मुद्दामा पछि कुनै भ्रष्टाचार सावित भएन। यसपछि विशेष अदालतले सन् २०१५ मा अख्तियार प्रमुखलाई 'नसिहत' दिँदै आरोपी सबैलाई सफाइ दियो।
आफूलाई दुःख दिने पारसविरूद्ध क्यान पदाधिकारीले त्यतिबेलै अनुशासनको कारबाही गर्न नखोजेका होइनन्। तर, तत्कालीन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विधानविपरीत विनयराज पाण्डेलाई क्यानको अध्यक्ष नियुक्त गरेपछि मुद्दाले अर्को रूप लियो।
यही मुद्दा बल्झिदै क्यान प्रतिबन्धको अवस्थामा पुग्यो भने पारस थप शक्तिशाली बने। क्यान प्रतिबन्धमा हुँदा खेलाडी छान्नेदेखि निकाल्नेसम्मको अधिकार पारससँग थियो।
एक किसिमले भन्नुपर्दा उनी क्यानको छायाँ अध्यक्ष नै थिए। तर, उनले सन् २०१४ मा टी–२० विश्वकप खेलेको नेपाली क्रिकेटको त्यो ‘ग्लोरी’ लाई फर्काउन सकेनन्।
यसले के दर्शाउँछ भने क्रिकेटजस्तो संस्था कुनै व्यक्तिको एकलौटी बुद्धि–विवेकले भन्दा पनि सामूहिकताले मात्र अगाडि बढ्नसक्छ।
सन् १९९० सम्म पनि भारतीय क्रिकेटमा नेपालीहरू जस्तै सोच भएका व्यक्ति हावी थिए। तर, सचिन तेन्दुलकरको आगमनपछि भारतीय क्रिकेटमा पुरानो तथा संकिर्ण सोच हट्दै गयो। सचिनले आफूलाई कप्तानबाट हटाउँदा पनि कुनै प्रतिवाद गरेनन्। अझ, उनले आफूभन्दा निकै जुनियर महेन्द्रसिंह धोनीको कप्तानीमा पनि लामो समय क्रिकेट खेले।
धोनीले पनि केही समयअघि क्रिकेटबाट सन्यास लिने क्रममा सौहाद्र्रपूर्ण रूपमा विराट कोहलीलाई कप्तान पद हस्तान्तरण गरेका थिए। भारतीय क्रिकेटमा सुरू भएको यही पुस्तान्तरणको अनुभवलाई नेपाली क्रिकेट खेलाडीले अहिलेको अवस्थामा पछ्याउन जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।