काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
सामाजिक सञ्जालमा मंगलबार बिहान एक विज्ञप्ति सार्वजनिक गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।
उनले नेपाली क्रिकेटलाई माया गर्ने सबैलाई धन्यवाद दिँदै फेसबुकमा लेखेका छन्, ‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहने छु।’
क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैब आफ्नो भूमिका निर्वाह गरेको उनको भनाइ छ।
आफ्नो जीवनको सपना भनेकै नेपाली क्रिकेटको उन्नति रहेको बताउँदै उनले लेखेका छन्, ‘यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाको संयुक्त प्रयासको आवश्यक छ। इमानदारीका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा नयाँ उचाइमा पुर्याउनेछौं।’
यस्तो छ उनको विज्ञप्ति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।