काठमाडौं- दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति ज्याकब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। अदालतको मानहानिका लागि जेल सजाय भोग्न उनी तयार भएका हुन्। गत साता जुमालाई १५ महिना लामो जेल सजाय सुनाइएको थियो।
स्थानीय समय अनुसार बुधवार उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेका थिए। जुमाको फाउन्डेनले जुमा जेल जान तयार रहेको जनाएको थियो। ''राष्ट्रपति जुमाले पक्राउ आदेशको पालना गर्ने निर्णय गरेका छन्,'' उनको फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आत्मसमर्पण नगरे ७९ वर्षीय पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो। प्रहरीले चेतावनी जारी गरेसँगै जुमाले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ।
दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो पहिलो पटक हो। जुमालाई अदालतको अपहेलनासम्बन्धी मुद्दामा दोषी ठहर गरिएको थियो। जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा प्रमाण पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो।
उनको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ। तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।