काठमाडौं। साउदी अरबका दुई विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्। अब्हा विमानस्थलका संरचनामा भएको आक्रमणमा दुई जनाको मृत्यु र २८ जना घाइते भएका छन्।
उड्डयन प्राधिकरणका अनुसार एउटा आक्रमण बुधबार र अर्को मंगलबार भएको थियो। कुन आक्रमण कुन दिन भएको हो भन्नेबारे भने प्राधिकरणले स्पष्ट पारेको छैन।
आक्रमणपछि हुथीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले प्रतिशोध लिने चेतावनी दिएको छ। गठबन्धनले आक्रमण ‘दण्डविहीन नहुने’ बताउँदै सादा, होदेडा, जव्फ र मारिब प्रान्तमा हुथीका ८० भन्दा बढी सैन्यस्थलमा आक्रमण गरेको दाबी गरेको छ।
बुधबार हुथीहरूले यमनको एडेन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ब्यालिस्टिक क्षेप्यास्त्र र विस्फोटक पदार्थ बोकेका ड्रोनबाट आक्रमण गरेका थिए। यमनको यातायात मन्त्रालयका अनुसार एउटा क्षेप्यास्त्र विमानस्थलको धावनमार्गनजिक खसेको थियो। उक्त क्षेप्यास्त्र काहिराबाट आएको विमान अवतरण हुनुभन्दा केही मिनेटअघि खसेको मन्त्रालयले जनाएको छ।
एडेन विमानस्थल हुथीको नियन्त्रणबाहिर रहेको यमनका केही क्षेत्रका लागि प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।