क्वालालम्पुर– मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गरेका छन्। सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप ९२ वर्षीय नेताले सरकारी खर्चलाई २ सय ५१ अर्ब ५ करोड अमेरिकी डलरमा झार्ने बताएका छन्।
मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब २२ वर्ष मलेसियाको सरकारको नेतृत्व सम्हालेका थिए। उनले मन्त्रीपरिषद्को पहिलो बैठकमा मलेसियाको सरकारी खर्चमा कटौति गर्ने निर्णय गरेका हुन्।
बुधबार भएको बैठकमा नयाँ सरकारका लागि सपथ खाएका एक दर्जनभन्दा बढी मन्त्रीहरूको उपस्थिति रहेको थियो। बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री महाथिरले भने,‘हामी राष्ट्रको आर्थिक समस्याप्रति सजक छौँ। हामीले अन्य उच्च सरकारी कर्मचारीको हकमा सुविधा कटौतीलाई बाध्यकारी बनाउने छैनौं। तर यदि कसैले देशका लागि योगदान गर्न चाहन्छ भने उनीहरू स्वतन्त्र छन्।’
निर्वाचन अभियानका समय गरेका प्रतिवद्धतालाई प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेकै दिनदेखि कार्यान्वयनमा लाने प्रयास गरिरहेका छन्। यसै अनुरूप उनले विभिन्न करको दायरालाई समेत परिवर्तन गर्न अग्रसरता लिइराखेका छन्। पत्रकार सम्मेलनमा प्रधानमन्त्री महाथिरले भने,‘हाल मलेसियाको ऋण यहाँको कुल ग्राहस्थ उत्पादनको झण्डै ६५ प्रतिशत रहेको छ। पारिश्रमिकमा कटौतिबाहेक देशको अर्थतन्त्रलाई उकास्ने अन्य उपायहरुका बरेमा पनि सोचिरहेका छौँ।’ उनले सानो आकारको मन्त्रीमण्डलका अलावा राज्यको विदेशमा उठ्न बाँकी कोषलाई पनि उठाउन पहल गरिने बताए।
उनले सार्वजनिक यातायात आयोगलाई निलम्वन गर्ने र यसको काम यातायात मन्त्रालयबाट गर्ने तथा अनावश्यक देखिने अन्य कैयौँ संघसंस्थालाई पनि निलम्बन गरिने जानकारी दिए।
यसबाहेक उनले केही ठूला योजनाबारेमा पनि समिक्षा गर्ने बताउँदै सरकारले कुन योजना राख्नुपर्छ र कुनलाई हटाउनुपर्छ अध्ययन गरिरहेको बताए।
सरकारले चार वर्ष पहिले (मार्च २०१४) मा क्वालालम्पुरबाट बेइजिङ जाने क्रममा हराएको विमानको खोजीका लागि दिइएको अनुमतिलाई यही महिनादेखि रद्द गर्ने गरी समिक्षा गरिरहेकोसमेत सङ्केत गरे।
केही दिन पहिले उडानसम्वद्ध विज्ञहरूको टोलीले विमानलाई पाइलटले जानाजानी दुर्घटनाग्रस्त गराएको हुनसक्ने सूचनाहरू आएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।