काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आवश्यकता आधारमा हुने भएकाले नीति तथा कार्यक्रमा समेट्ने विषय नभएको बताएका छन्।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा संविधान संशोधनको कुरा नसमेटिएको भन्दै मधेसकेन्द्रित दलहरुले असन्तुष्टि जनाइरहेकोमा उनले यस्तो स्पष्टोक्ति दिएका हुन्।
‘संविधान संशोधन एकवर्षे कार्यक्रम नभई जुन बेला आवश्यकता महसुस हुन्छ, गरिन्छ’, संघीय संसदबाट बाहिरिने क्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारको सधैंको एजेण्डा हो, त्यसैले नीति तथा कार्यक्रममा नसमेटिएको हो।’
सरकारलाई समर्थन गरेका मधेसवादी दलका नेता राजेन्द्र महतो र लक्ष्मणलाल कर्णले नीति तथा कार्यक्रममा संविधान संशोधन गरेर देशभित्रका असन्तुष्टि सम्बोधन गर्ने प्रतिबद्धता नआएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम योजनामुखी र जनतामुखी भएको दाबी गरे। सबै क्षेत्रलाई समेटेर कार्यक्रम निर्माण भएको र बजेट पनि यही आधारमा निर्माण हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।