काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रम जनतासँग गरिएको वाचा अनुसार नै आएको प्रतिक्रिया दिएका छन्।
नीति तथा कार्यक्रम सुनिसकेपछि पत्रकारहरुसँग प्रचण्डले नीति तथा कार्यक्रमले विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्ने, सुशासनको नयाँ यात्रा सुरु गर्ने भनेर संकल्प गरेको बताएका छन्।
प्रचण्डको प्रतिक्रियाः
जतिबेला हामी निर्वाचनमा साझा उम्मेदवार र साझा घोषणापत्र लिएर गएका थियौं, त्यतिबेला नै हामीले कम्युनिस्ट बहुमतको सरकार बन्ने करिबकरिब सुनिश्चितता देखेका थियौं। हामीले घोषणापत्रमा जे कुरा भनेका थियौं, अहिले कम्युनिस्टको बहुमतको नीति तथा कार्यक्रममा जे कुरा प्रस्तुत भएको छ। हामीले जनताको अगाडि गरेको प्रतिबद्धता अनुकूल नै यो आएको छ। यसले विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्ने, सुशासनको नयाँ यात्रा सुरु गर्ने भनेर संकल्प गरेको छ। मलाई विश्वास छ, आउने यो नीति तथा कार्यक्रमको मर्म र भावनालाई समेटेर बजेट आउँछ।
संविधान संशोधनका कुरामा म के स्पष्ट पारौं भने मधेसमा सरकार बनाउने पार्टीहरुसँग पनि कुरा भइरहेको छ। प्रधानमन्त्री र मेरो बीचमा कुरा हुँदा संविधान संशोधनको विषयमा राजनीतिक सहमति पनि भइसकेको छ। अब सरकारमा प्रवेश गर्ने विषयमा प्राविधिक रुपमा कुरा मिल्यो भने संविधान संशोधनका विषयमा हामीले जे सहमति गरेका छौं त्यसमा हस्ताक्षर हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।