काठमाडौं- नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहे पनि यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन्।
नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै भट्टराईले कार्यक्रममा के गर्ने भन्ने कुरा राम्रैगरी आए पनि कसरी गर्ने भन्ने मुख्य कुरा रहेको र त्यो बजेटमा अभिव्यक्त हुनुपर्ने बताए। सरकारले किटान गरेका कतिपय लक्ष्यहरु प्राप्त गर्ने विषयमा पनि अस्पष्टताहरु रहेको उनले औंल्याए।
पाँच वर्षमा प्रतिव्यक्ति आयलाई दोब्बर गर्ने भनिए पनि दुई अंकको आर्थिक वृद्धिदर पाँच वर्षपछि मात्र प्राप्त गर्ने भनिएकाले यसमा विरोधाभास देखिएको उनले टिप्पणी गरे।
'यो हिसाबले चार वर्षसम्म दुई अंकको आर्थिक वृद्धि हुँदैन र दुई अंकको वृद्धि हासिल नभईकन प्रतिव्यक्ति आय दोब्बर हुँदैन', पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले भने, 'त्यसैले भन्नलाई भन्ने तर गर्न नसक्ने हुन्छ कि भन्ने केही आशंका देखिन्छ।'
नीति तथा कार्यक्रममा संघीयताको कार्यान्वयनको विषयमा स्थानीय तह र प्रदेशलाई सबल बनाउन अलि जोड दिनुपर्ने भए पनि त्यो नदेखिएको उनले औंल्याए।
संविधान संशोधन गरेर संघीयतालाई पूर्णता दिने विषय अहिले पनि अपूरै रहेको विषय भन्दै भट्टराईले थपे, 'मुलुक संघीयतामा गएपछि आएको यो पहिलो नीति तथा कार्यक्रममा संविधान संशोधन गरेर कतिपय विषयलाई सम्बोधन गरिनेछ भन्ने कुरा पनि आउनुपर्थ्यो, त्यो छुटेको हो वा जानीबुझी छुटाइएको हो।'
यी सबै कुरालाई बजेटमा हेरेर मूल्यांकन गर्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।