काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र वरिष्ठताको विषयमा सचिवालय बैठकमा असहमति प्रकट गरेका छन्।
एकता हुनुअघिको तत्कालीन नेकपा एमालेमा अध्यक्षपछिको वरिष्ठ नेताको हैसियतमा रहेका नेता खनाल पार्टी एकतापछि चौथो वरीयतामा पुर्याइएको भन्दै असन्तुष्ट छन्। पार्टी एकता भएको दिन गत जेठ ३ गते देश बाहिर रहेका नेता खनालले एकताको मितिबारे जानकारी नदिएको र वरिष्ठतामा तल-माथि पार्दा पनि कुनै जानकारी नदिएको बताएका छन्।
पार्टी एकतापछि निर्माण गरिएको शक्तिशाली सचिवालयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' तथा तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपछि आफूलार्इ राखिएकोमा उनले आपत्ति जनाएका हुन्।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आज पहिलो बैठक बसेको हो। बैठकले पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिलार्इ पूर्णता दिने लगायतका निर्णय गरेको छ।
एकतापछि निर्माण गरिएको सचिवालयमा नेता माधवकुमार नेपाललार्इ तेस्रो वरीयता र महासचिवको हैसियतमा अर्का नेता विष्णु पौडेलको एकाएक उदय भएपछि पार्टीभित्र वरिष्ठताको विवाद चुलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।