काठमाडौं- उच्च अदालत पाटनले सात किलो सुन तस्करी गरेको आरोपमा जिल्ला अदालतको आदेशले थुनामा रहेका बन्दीलाई उपस्थित गराउन आदेश गरेको छ।
थुनामा रहेका कुन्साङ लामालाई अदालत उपस्थित गराउन न्यायाधीश प्रेमराज ढकाल र हेमराज पन्तको इजलासले सोमबार आदेश गरेको हो।
२०७३ पुस २४ गते प्रहरीले सात केजी अवैध सुनसहित गाडी चालक लामालाई पक्राउ गरेको थियो। धादिङबाट काठमाडौं आउँदै गरेको बा८च ७४२० नम्बरको हाइलक्स गाडीबाट सुन रहेको सुराकीको आधारमा प्रहरीले कलंकीबाट पक्राउ गरेको थियो। लामाको साथबाट एक केजीका सात वटा ‘सुनको बिस्कुट’ बरामद गरिएको थियो।
सरकारी वकिलको कार्यालय काठमाडौंले लामालाई तीन करोड १६ लाख २६ हजार बिगो र पाँच वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। रसुवा घर भएका लामाले तस्करीको सुन केरुङबाट काठमाडौं ल्याएका थिए। बयानका क्रममा भने उनले आफू चालक मात्र भएको बताएका थिए।
लामाले सो सुन कसलाई दिन ल्याएका थिए भन्नेबारे अझै अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ। २०७४ असोज ३१ गते लामाले थुनामा राख्ने जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै उच्च अदालतले झगडिया झिकाउने आदेश गरेको हो।
उच्च अदालतले अर्को सुनुवाइमा उनलाई थुनामा रख्ने जिल्ला अदालतको आदेश उचित भए/नभएकोबारे निर्णय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।