काठमाडौं– मोरङ जिल्ला अदालतमा सुनुवाइ भइरहेको ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरोपितका कानुन व्यवसायीले बहस लम्ब्याउँदै लगेपछि न्यायाधीशले हस्तक्षेप गर्दै छिटो सक्न दबाब बढाएका छन्।
जिल्ला न्यायाधीश नारायाणप्रसाद शर्माको इजलासमा गत आइतबारदेखि पक्षका कानुन व्यवसायीको बहस सुरु भएको थियो। एक हप्ताको समयमा आधामात्र कानुन व्यवसायीले बहस सकेपछि न्यायाधीश शर्माले उनीहरुलाई मंगलबारसम्मको समयसीमा दिएका हुन्।
हालसम्म ५३ जना कानुन व्यवसायीले बहस गरेको र अझै सोही संख्यामा कानुन व्यवसायीले इच्छा देखाएपछि न्यायाधीश शर्माले बहस छिटो सक्न प्रतिवादीका कानुन व्यवसायीहरुलाई दबाब दिँदै समय तोकेका हुन्। एउटै मात्र मुद्दामा दुई हप्तासम्मको समय दिँदा अन्य सेवाग्राही मर्कामा परेको भन्दै शर्माले बहस समय निर्धारण गर्न र नदोहोर्याई आफ्नो पक्षको कुरा राख्नसमेत निर्देशन दिएका छन्।
मंगलबारसम्म प्रतिवादीहरुको बहस समाप्त गर्ने र सरकारी वकिलको जवाफ सुनेर आदेश गर्ने कार्यसूची न्यायाधीश शर्माले कानुन व्यवसायीहरुलाई सुनाएका थिए।
३० जना प्रतिवादीहरुको तर्फबाट एक सय कानुन व्यवसायीहरुले बहसका लागि नाम लेखाएका थिए। पहिलो दिन सुन तस्करी र हत्या प्रकरणमा जिल्ला अदालतमा बहसका लागि १० वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी ८० जनाले नाम लेखाएका थिए। पहिलो दिन गत आइतबार राजधानीबाट गएका वरिष्ठ अधिवक्ताहरुलाई पालो दिइएको थियो। सोमबार र मंगलबार २५ जना अधिवक्ताले आफ्नो पक्षको बचाउमा बहस गरेका थिए।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो। उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।
मुद्दामा प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विपक्षी रहेका छन्।
मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दाबी अभियोगपत्रमा गरिएको छ। सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।