भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै बिजुक्छेंले एउटै कम्युनिष्ट पार्टी भनी प्रचार गर्दै गरिएको एकता केवल हात्तीको देखाउने दाँत भएको टिप्पणी गरे।
‘पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डा र सत्ता साझेदारको करारनामा हो’, उनले भने।
उनले हालको वाम एकता पनि भारतकै इसारामा भएको बताउँदै यो एकता भारतका लागि काम गर्ने नयाँ 'ट्रोजन हर्स' सावित हुने टिप्पणी गरे।
यो एकता सत्ताकेन्द्रित भएकाले दीर्घकालीन स्वरुप नलिने पनि बिजुक्छेंले बताए। दुई पार्टी एकताका क्रममा एसियाको ठूलो कम्युनिष्ट पार्टीका रुपमा व्याख्या गरिएको सन्दर्भ जोड्दै उनले रुसको कम्युनिष्ट पार्टीसँग तुलना गरे।
'रुसको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भए पनि सैद्धान्तिक पाटोलाई आत्मसात् गर्न नसक्दा नराम्रो हविगत बेहोर्यो, अहिले उदाएका नव कम्युनिष्टले यो कुरा भुल्न हुँदैन', उनले भने।
पञ्चायत जस्तै वर्तमान सरकारले अधिनायकवादी शैलीमा काम गरिरहेको आरोप लगाउँदै बिजुक्छेंले वर्तमान सरकार गुण्डाराजमा चलिरहेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।