काठमाडौं- कर्तव्य ज्यान मुद्दा जन्मकैदको सजाय भोगिरहेका नेता बालकृष्ण ढुंगेललाई जेलमुक्त गर्ने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले द्वन्द्वकालमा तत्कालीन माओवादीबाट हत्या गरिएका उज्जनकुमार श्रेष्ठको रगत केपी ओलीको अनुहारमा देखिरहेको प्रतिक्रिया दिए। शर्माले द्वन्द्वकालका घटनाहरु मूलतः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हेर्ने भए पनि ढुंगेलको कैद सजाय आयोगको क्षेत्राधिकारभन्दा बाहिरको विषय भएको बताए। उज्जनको हत्या द्वन्द्वको नियमभन्दा बाहिर रहेको उनले प्रतिक्रिया दिए।
‘सर्वोच्चले दिएको फैसला विपरीत कैदमा रहेका ढुंगेललाई ओली सरकारले छाड्ने निर्णय गरेको हो भने विघटित एमाले र ओलीको अनुहारमा श्रेष्ठको रगत लतपतिनेछ’, शर्माले भने।
प्रवक्ता शर्माले ढुंगेललाई छाड्ने सरकारी निर्णयले आगामी दिनमा न्यायको स्वरुप कस्तो होला भन्ने प्रश्न उब्जिएको बताए।
४० प्रतिशत कैद भुक्तान गरेपछि ढुंगेललाई गणतन्त्र दिवसका दिन जेठ १५ मा कैद मिनाहा गरी छाड्ने सरकारी तयारी छ।
०५५ असार १० गते ओखलढुंगाको पोकली २ मा भएको उज्जनको हत्यामा दोषी ठहर भएका ढुंगेल ढिलो गरी गत कात्तिकमा पक्राउ परेका थिए। ढुंगेल द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेका थिए। कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैसाखमै ८ वर्ष पुगिसकेको छ। ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि कैदीलाई छाड्न मिल्ने कारागार नियमावलीको प्रावधान अनुसार उनी छुट्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।