हवाना– क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ। विमानको ब्ल्याक बक्स भेटिएको र यसका आधारमा अनुसन्धान सुरु गरिएको यातायात मन्त्री अडेल याज्क्वीर्डोले बताएका छन्।
अधिकारीहरुले ब्ल्याक बक्स भेटिएपछि यसबाट अनुसन्धानको काम अब सजिलो हुने पनि बताएका छन्।
दुर्घटनामा चालक दलका सदस्यसहित १ सय १० जनको मृत्यु भएको थियो। दुर्घटनामा परेकामध्ये १९ वर्षका मैलेन, २३ वर्षका ग्रेटेल लान्ड्रोभेल र ३९ वर्षका इमिली सन्चेज गरी तीन जना मात्र जिवित रहेका थिए।
उनीहरुको अहिले पनि गम्भीर अवस्थामा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्।
यो सन् १९८० पछि क्युबामा सबैभन्दा बढी मानविय क्षती भएको दुर्घटना हो। सरकारले मृतकको सम्झनामा शनिबार र आइतबार राष्ट्रिय शोकको घोषणा गरेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।