काठमाडौं- नवगठित नेपाल कम्युनिस्ट पार्टीको स्थायी र केन्द्रीय सदस्यको नाम टुङ्ग्याउन पूर्व माओवादी केन्द्रले सकेको छैन। स्थायी र केन्द्रीय समितिका सदस्यको नामावली आज टुङ्याउने बताइए पनि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आफ्नोतर्फका २ सय केन्द्रीय सदस्य र स्थायी समितिमा १९ मध्ये १६ जनाको छनोट गर्न समस्या भएको हो।
विघटित माओवादी केन्द्र सचिवालय सदस्य देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमको तयारीमा लागेकाले नाम टुङ्याउन नसकिएको बताए। पौडेलले स्थायी र केन्द्रीय समिति सदस्यको नाम नीति तथा कार्यक्रमपछि मात्रै टुंगो लाग्ने बताए।
पूर्व माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको नाम टुङ्याउने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ। तर, स्थायी र केन्द्रीय समितिका लागि आंकाक्षी नेताहरुको संख्या बढी भएपछि दाहालले नामावली बनाउन नसकिरहेको एक नेताले बताए।
स्थायी समितिका लागि सचिवालयमा रहेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बाहेकका १६ नेताको नाम निश्चित गर्नुपर्ने भएको छ। स्थायी समितिमा अमिक शेरचन, देव गुरुङ, टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल लगायत पर्ने बताइएको छ। त्यसैगरी अग्नि सापकोटा, चक्रपाणि खनाल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, कुलप्रसाद केसी र मातृका यादवको नाम पनि स्थायी समितिका लागि चर्चामा छ।
हितमान शाक्य, मणि थापा, जयपुरी घर्ती, लिलामणि पोखरेल, दीनानाथ शर्मा, देवेन्द्र पौडेल र रामचन्द्र झा स्थायी समिति सदस्यका आकांक्षी देखिएका छन्।
पूर्व माओवादी केन्द्रको ८४ सदस्यीय सचिवालय सदस्य छ। उसले प्राप्त गरेको २ सय केन्द्रीय सदस्यका लागि अब एक सय १६ जना थपिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।