काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वाम एकताबाट नझस्कन प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीको गठनपछि पहिलो पटक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई सम्बोधन गर्दै ओलीले वामपन्थीले जित्दा, सरकार बनाउँदा वा एकता हुँदा कांग्रेस झस्कनु नपर्ने बताएका हुन्। उनले नेपालमा सबैभन्दा लोकतन्त्रवादी दल नेकपा भएको दाबी समेत गरे।
अध्यक्ष ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताए।
उनले नेपाललाई आगामी १० वर्षभित्र मानिस र प्रकृतिको संयुक्त प्रयासबाट बनेको स्वर्ग भएको देखाउन चाहेको भन्दै थपे, 'विदेशी पर्यटक आएर नेपालको प्रशंसा गरेर फर्केर जाने अवस्था आउनेछ।'
ओलीले जनतमतबाट देशकै ठूलो दल बनेको कम्युनिस्ट पार्टी भएकाले जनताको चाहना अनुसार युगलाई हाँक्न सबै सांसदले चनाखो भएर लाग्नुपर्ने निर्देशन दिए। यसका साथै प्रधानमन्त्री, मन्त्री र सरकारका काम-कारबाही ठीक ढंगले भए/नभएकाबारे अवलोकन गर्न सांसदहरुलाई आग्रह समेत गरे। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।