काठमाडौं- शुक्रबार मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम लागू हुँदैछ। विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार शुक्रबार मध्यरातिपछि क्लिन फिड लागू हुन लागेको हो।
सरकारले कात्तिक ८ देखि क्लिन फिड नीति लागू हुने स्पष्ट पारिसकेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन नियमन गर्ने ऐन र नियमावलीअनुसार क्लिन फिड लागू हुने व्यवस्था कार्यान्वयन हुने बताएका थिए।
गुरुङले क्लिनफिड लागू गर्ने निर्णय ऐतिहासिक भएको भन्दै सरकार यसबाटपछि नहट्ने बताए। 'यसको तयारी पहिलेदेखि नै थियो, अहिले ऐन र नियमावली बनेको छ,' उनले भनेका थिए, 'सरकार ऐन र नियमावलीको भावनाअनुसार यो व्यवस्था कार्यान्वयन गर्छ।'
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष कात्तिक ७ गते ऐन प्रमाणीकरण गरेकी थिइन्।
केवल टेलिभिजन प्रशासक संस्थाहरु तथा भारतीय टेलिभिजन च्यानल प्रसारण संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ) ले समय थप्न सरकारलाई आग्रह गरेका थिए। तर ऐनले नै प्रष्ट पारेको समय सरकारले लागू गर्नुपर्ने बाध्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।