याङ्गुन– हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छन्।
केही समय अघि यी दुई देशबीच शरणार्थी फिर्ता गर्ने सम्बन्धमा सम्झौता भएको थियो। अन्तर्राष्ट्रिय समुदायले त्यस सम्झौताअन्तर्गत रहेर सहयोग गर्ने भएको बताइएको छ।
अन्तर्राष्ट्रिय समुदायको उक्त सहयोग म्यानमारले स्वीकार गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रतिनिधिहरुसँग मङ्गलबार भएको भेटवार्तापछि म्यानमाली विदेशमन्त्री आङ सान सुकीले सो सहयोगप्रति समर्थन गरेकी छिन्।
मङ्गलबार भएको सो भेटवार्तापछि बुधबार यहाँको विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको हो।
विदेशमन्त्री सुकीले रोहिंग्या शरणार्थीको फिर्तीको प्रक्रियामा संयुक्त राष्ट्रसंघीय एजेन्सीको सहभागिता स्वागतयोग्य रहेको बताइन्।
भेटका क्रममा उनले शरणार्थी फिर्ताको लागि संयुक्त राष्ट्रसंघको संलग्नताले ती शरणार्थीहरुलाई पनि सुरिक्षत रुपमा आफ्नो देश फर्किनका लागि सघाउ पुर्याउने धारणा राखेको म्यानमाली विदेश मन्त्रालयले जनाइएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले बंगलादेश र म्यानमारको भ्रमण गरी म्यान्माली शरणार्थीको अवस्थाको बारेमा अध्ययन गरेका थिए। उनीहरुले रोहिंग्या शरणार्थीका लागि सहायता उपलब्ध गराउन विश्वका दाता राष्ट्र तथा संस्थाहरुलाई आग्रह पनि गरेका थिए।
राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा अझै सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै कुनै प्रगति नभएको निश्कर्ष पनि निकालेका छन्।
रोहिंग्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउन के गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले गएको शनिबारदेखि म्यानमार र बंगलादेशको भ्रमण गरेको थियो।
यी दुवै देशका उच्च सरकारी अधिकारीहरुसँग पनि ती प्रतिनिधिले भेटवार्ता एवम् परामर्श समेत गरेका थिए। सोही परामर्शका क्रममा उनीहरुले म्यान्माली विदेशमन्त्री सुकीलाई सो सहयोगको आस्वासन दिएका हुन्।
म्यानमारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरु हाल बंगलादेशको कोक्स बजारमा मात्र करिब ७ लाख जना पुगेको अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।