सिओल– दक्षिण कोरियामा अमेरिकी सैनिक यथावत रहने त्यहाँको सरकारले बताएको छ। गत शुक्रबार दुवै कोरियाली प्रमुखबीच भएको शिखरवार्तामा कोरियाली प्रायद्विपमा युद्ध नगर्ने सहमति भए पनि दक्षिण कोरियामा अमेरिकी सेना भने यथावत रहने दक्षिणको सरकारले प्रष्ट पारेको छ।
सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि भएको सुरक्षा सम्झौताअन्तर्गत दक्षिण कोरियामा अमेरिकी सैनिक रहँदै आएका छन्। हाल त्यहाँ २९ हजार अमेरिकी सैनिक रहेको बताइन्छ।
यसअघि उत्तर कोरियाले दक्षिण कोरियाबाट अमेरिकी सैनिक फिर्ता भएको खण्डमा मात्रै आणविक कार्यक्रम बन्द गर्ने सर्त राखेको थियो। तर शिखर वार्ताको केहि दिन अघि नै उत्तरले आफ्ना सबै आणविक कार्यक्रम तथा मिसाइल परिक्षण बन्द गर्ने बताइसकेको छ। पछिल्लो समाचारमा उसले आगामी मे महिनासम्ममा सबै कार्यक्रम बन्द हुने प्रष्ट पारिसकेको छ।
दक्षिण कोरियाली सरकारका प्रवक्ता किम इयुई–किओमले अमेरिकी सैनिकको फिर्तासम्बन्धमा दुई कोरियाली राष्ट्रप्रमुखबीच भएको सम्झौतामा केहि पनि उल्लेख नभएको बताएका छन्। राष्ट्रपति मुन जाई इनको भनाइलाई उदृत गर्दै किओमले भने,‘दक्षिण कोरियामा रहेका अमेरिकी सेनाको विषय दक्षिण कोरिया र अमेरिकीबीच भएको सम्झौतामा मात्रै आधारित छ।’
गत शुक्रबार उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिणका राष्ट्रपति इनबीच कोरियाली प्रायद्विपलाई आणविक निशस्त्रिकरण क्षेत्र बनाउने तथा शान्ति सम्झौताका माध्यमबाट कोरियाली युद्ध अन्त्य गर्ने सहमति भएको थियो। सन् १९५३ मा युद्धबिराम भए पनि दुई कोरियालीबीच हालसम्म शान्ति सम्झौता भने हुन सकेको छैन।
उता केहि समयअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली भूमिमा लामो समयसम्म अमेरिकी सेना रहिरहन आवश्यक नरहेकोतर्फ संकेत गरेका थिए।
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि केहि साताभित्रै वार्ता हुने तयारी छ। तर वर्ताको एजेन्डा, मिति तथा स्थानका बारेमा भने हालसम्म केहि पनि बताइएको छैन।
उक्त वार्तामा यस विषयले प्रवेश पाउँछ–पाउँदैन भन्ने विषयमा अन्याैल रहेकाे बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।